सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको बेलडाँडीका गर्भवती र सुत्केरीलाई पोषिलो खाद्य सामग्री

२०७७ जेठ ५, ०३:२७

कञ्चनपुर : कञ्चनपुरको बेलडाँडी गाउँपालिकाका गर्भवती र सुत्केरी भएका महिलालाई पोषिलो खाद्य सामग्री उपलब्ध गराइएको छ। गर्भवती र सुत्केरी भएकाको रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गरी कोरोना भाइरसको सङ्क्रमणबाट बचाउनका लागि गाउँपालिकाको समन्वयमा एनएनएसडब्लुए नामक गैरसकारी संस्थाले पोषिलो खाद्य सामग्री वितरण गरेको हा। 

गर्भवती र सुत्केरी भएकालाई आधा किलो घ्यू, दुई किलो सुजी, एक क्यारेट अण्डा, काजु, बदाम र ओखरलगायतका खाद्य सामग्री उपलब्ध गराइएको संस्थाका कार्यकारी निर्देशक अशोककुमार जैरुले बताए। गाउँपालिकामा बसोबास गर्दै आएका १०० सुत्केरी र गर्भवती महिलालाई पोषिलो खाद्य सामग्री उपलब्ध गराइएको उनको भनाइ छ।

बन्दाबन्दीका कारण खाद्य अभाव झेल्दै आएका अपाङ्गता भएका व्यक्ति र निकुञ्ज विस्थापित गरी ३६६ परिवारलाई चामल, दाल, तेल, नुन, चियापत्ती र खुर्सानीलगायत वितरण गरिएको छ। “रोग प्रतिरोधात्मक क्षमता कम हुँदा सुत्केरी हुने महिला र गर्भवती भएका महिला कोरोना भाइरसको निकै उच्च जोखिममा रहेका हुन्छन”, कार्यकारी निर्देशक जैरुले भने, “परिवारले समेत बन्दाबन्दीका बेला पोषणयुक्त आहारको व्यवस्था गर्न निकै मुस्किल हुने भएकाले यिनै कुरालाई मध्यनजर गर्दै पोषणयुक्त खाद्य सामग्री वितरण गरिएको छ।” 

संस्थाले दातृ निकायको सहयोगमा सुत्केरी भएका र गर्भवती भएका महिलाको स्वास्थ्य अवस्था सुदृढ बनाउनका लागि सुनौला हजार दिन कार्यक्रम सञ्चालन गरेको छ। अन्य स्थानीय तहका विपन्न अवस्थाका परिवारका गर्भवती र सुत्केरी भएका महिलालाई समेत बन्दाबन्दीका बेला पोषिलो खाद्य सामग्री उपलब्ध गराउने संस्थाको योजना रहेको छ। 

जनस्वाथ्य कार्यालयका अनुसार जिल्लामा गर्भवती भएका महिलाको सङ्ख्या १३ हजार ८३६ रहेको छ। चालू आवमा पाँच हजार ९१९ महिलाले स्वास्थ्य संस्थामा सुरक्षित तरिकाले सुत्केरी भएका छन्। यसअघि संस्थाले कैलाली कञ्चनपुरका १३ स्थानीय तहका दैनिक ज्याला मजदुरी गर्ने परिवारलाई राहत सामग्रीसमेत वितरण गरेको थियो। –रासस

कमेन्ट लोड गर्नुस