सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरकाे चुरेफेदीका दुर्गम बस्तीमा विकासको लहर

२०७७ जेठ १, ०३:१४

राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिकाको उत्तर पश्चिम क्षेत्रको चुरे फेदी र महाकाली नदी किनारमा रहेका दुर्गम बस्ती खल्ला, टुडिखेल र मुसेट्टीले विकासमा फड्को मार्न थालेका छन्।

आधारभूत सेवा सुविधा नभएका बस्तीमा विद्युत् सेवा, सडक, खानेपानी, स्वास्थ्य सेवा र टेलिफोन सेवा विस्तारका लागि टावर निर्माण गर्ने कार्य अगाडि बढेका छन्।

ती बस्तीबाट जिल्ला सदरमुकामसम्म पुग्नका लागि स्थानीय बासिन्दाले पैदल नै ब्रह्मदेवसम्म पुग्नुपर्ने बाध्यता थियो। पिठ्यूँमा भारी बोकी पैदल ब्रह्मदेव पुगेपछि सवारी साधन पाइने पत्तो हुँदैनथ्यो। सवारी साधन पाइएपछि जिल्ला सदरमुकाम पुगेर एक दिनमा बस्तीमा फर्किन सकिन्थ्यो। सवारी साधन नपाइए पैदल नै गन्तव्यमा पुग्नुपर्दा अर्को दिनमात्रै बस्ती पुग्नुपर्ने यस क्षेत्रका बासिन्दाको दैनिकी नै थियो। सडक निर्माण भएपछि बस्तीमा उत्पादित सामानले बजार पाएको छ।

एक दिनमै नगरपालिका कार्यालय पुगेर स्थानीय बासिन्दा सहजरुपमा बस्ती फर्कने गरेका छन्। पैदल हिँडेर दुई दिनमा जिल्ला सदरमुकाम पुग्न सकिने विगत थियो स्थानीय बासिन्दा दिनेश थापाले भने, “बस्तीसम्मै यातायातका साधन पुग्न थालेकाले बिरामीको उपचारदेखि सहज आवागमन गर्न पाइएको छ। सिंहदरबारको सरकार घरसम्मै आइपुगेको छ।”

जति चुनाव आउँथे सबै उम्मेदवारले प्रतिबद्धतामात्रै गरेर जान्थे। नेताको विश्वासमा परेर चुनावमा मतदान पनि गर्थ्यो। चुनावपश्चात् जित्ने र हार्ने उम्मेदवार कोही पनि बस्तीमा पुग्दैनथे। हालखबरसमेत सोध्दैनथे उनले भने, “स्थानीय तहको निर्वाचनपछि चुनाव जितेका नगर प्रमुख सुरेन्द्र विष्टले प्रतिबद्धता पूरा गरेका छन्।”

बस्तीमा बिजुली, पानी, बाटो, फोन, रोजगारी छैन, लालपुर्जा छैन भन्ने पुरानै माग निर्वा्चित नगर प्रमुख सुरेन्द्र विष्टलाई सुनायौँ अमर धामीले भने, “चुनावमा गरेका प्रतिबद्धतामात्रै विष्टले पूरा मात्र गरेका छैनन् त्योभन्दा बढी कार्य गरेर देखाएका छन्। लालपुर्जा दिने कार्यमात्रै थाति रहेको छ। आफ्नै कार्यकालभित्रै त्यो पनि दिने भनेका छन्।” 

कुनैबेला यी बस्ती आगलागी भएर ध्वस्त हुँदा काठमाडौँको तत्कालीन राणा सरकारले ६ महिनापछि महाकालीको पानीले आगो निभाउने निर्देशन दिएको थियो। काठमाडौँ सरकारबाट यतिसम्म जवाफ पाएको बस्तीका झण्डै ४०० घरपरिवारका दुःख पीडा कस्ता होलान् भनेर सहज अनुमान गर्न सकिन्छ। विकासले नछोएका बस्तीमा हाल गाडी गुड्ने सडक निर्माण भएपछि विगतका दुःख स्थानीय बासिन्दाले बिर्सिएका छन्। 

भारतीय बजार उजलीकोटको विद्युत्को उज्यालो हेरेर रात काट्ने बाध्यता पनि हटेर गएको छ। बस्तीमा विद्युतीकरणको कार्य हुन थालेपछि स्थानीय बासिन्दा खुशीमात्रै भएका छैनन्। साँच्चै विकासले घरको ढोका ढकढक्याउँदै आएको बताउँछन्। ब्रह्मदेवदेखि टुँडिखेलसम्म विद्युत्का खम्बा गाडिएका छन्। बन्दाबन्दीका कारण विद्युत् विस्तारको कार्यमा हाल भने बाधा पुगेको छ। भारतीय मोबाइल प्रयोग गर्नुपर्ने बाध्यता हटाउन प्राथमिकताका साथ नेपाल टेलिकमसित पहल गरी टावर निर्माण अघि बढाउन शुरु गरिएको छ।

भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्ट विकासमा कोल्टे फेर्न नसकेका खल्ला, टुँडीखेल र मुसेट्टीलगायत क्षेत्रमा चुनावी प्रतिबद्धताअनुसार विकास निर्माणका कार्य अगाडि बढाइएको बताए। स्थानीयवासीका मागलाई चुनावी घोषणापत्रमा समावेश गरेको थिए उनले भने, “ती प्रतिबद्धता पूरा गर्नका लागि तदारुकताका साथ कार्य अगाडि बढाइएका छन्।”  

“स्थानीय तह निर्वाचनपश्चात्को अढाइ वर्षे अवधिमा खल्ला, टुँडिखेल र मुसेट्टीमा बस्तीमा पहिलोपटक गाडी पुगेको छ। ब्रह्मदेवदेखि कौवानीसम्म सडक निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ।  यस वर्ष नै टुँडिखेसम्म गाडी पुर्याउने लक्ष्य राखिएको छ। सञ्चारका लागि टुँडिखेलमा टेलिफोन टावर निर्माण कार्य अन्तिम चरणमा पुगेको छ”, नगर प्रमुख विष्टले भने।

उनका अनुसार स्थानीय बासिन्दाका घर घरमा गोबरग्यास प्लान्ट जडान गरिएको छ। वन जङ्गल संरक्षण र स्थानीयवासीलाई पशुपालनमा आकर्षित गर्न गोबरग्यास निर्माण गरिएका हुन्। महाकाली नदीमा पहिलोपटक साहसिक जलयात्रा (र्‍याफ्टिङ) को सफल परीक्षण गरिएको छ। यसलाई व्यावसायिक बनाउन बस्तीका युवालाई तालिम दिइएको छ।

स्थानीयवासीलाई उत्पादनसित जोडेर स्वरोजगार बनाउने नगर प्रमुख विष्टको योजना छ। गाउँघर क्लिनिक व्यवस्थित गरिएको छ। स्थानीय बासिन्दाको जग्गाधनी पुर्जाको समस्यालाई समाधान गर्न नगरपालिका प्रदेश सरकारको कानूनको प्रतीक्षामा रहेको उनले बताए। खानेपानी, विद्यालय सुधार, कुलो सिँचाइको व्यवस्थालगायतका कार्य प्राथमिकतामा राखिएका छन्।  

“महाकाली नदीको बाढीबाट बस्ती जोगाउन तटबन्ध निर्माणका लागि सङ्घ र प्रदेश सरकारसित पहल गरिएको छ। दुर्गम बस्तीलाई नमूना बस्ती बनाउने लक्ष्यका साथ अगाडि बढेका छौँ”, नगर प्रमुख विष्टले भने। चुरे फेदीका यी बस्तीले ऐतिहासिकतासमेत बोकेका छन्। राजा ब्रह्मदेव, किसान नेता भीमदत्त पन्त र ब्रह्मदेव मण्डी अर्थात् अहिलेको बाउन्न ढोके (कुनै बेला सुदूरपश्चिम क्षेत्रमा खाद्यान्नलगायत दैनिक सामानको आपूर्तिकर्ता)को इतिहासम्म जोडिएका छन्। बाउन्न ढोका संरक्षणका लागि तारबारसमेत गरिएको छ।  -रासस

कमेन्ट लोड गर्नुस