सुदूर नेपाललाई विश्वसँग जोड्दै

सङ्कटका काला बादल अवश्य हटेर जानेछन् :प्रधानमन्त्री

२०७६ चैत्र २५, १२:२६ खबर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ का कारण उत्पन्न सङ्कटको वर्तमान घडीमा जो जहाँ छौँ, त्यहीँ सुरक्षित रहौँ भन्दै सङ्कटका काला बादल अवश्य हटेर जाने विश्वास व्यक्त गरेको छ। राष्ट्रका नाममा आज सम्बोधन गर्दै उहाँले मुलुक कोरोना विरुद्धको लडाईंमा होमिएको र देशमा सङ्क्रमणको पहिलो ‘केस’ पहिचान भएयताका साझा प्रयत्नले सङ्क्रमितको सङ्ख्या नौ जनामा मात्र सीमित गर्न सकिएता पनि मुलुक उच्च जोखिम रहेको यथार्थ चित्रण गरेको छ।

विकसित, सम्पन्न र सुदृढ स्वास्थ्य प्रणाली भएका देशहरुलाई समेत आच्छुआच्छु पारिरहेको यस महामारीविरुद्ध जुध्न हाम्रो जस्तो सीमित साधनस्रोत भएको मुलुकलाई हम्मेहम्मे पर्नु स्वाभाविक भएको बताउँदै प्रधानमन्त्रीले अहिलकोे सबैभन्दा ठूलो चुनौती स्वास्थ्य उपकरणको आपूर्तिमा परेको उल्लेख गरे।

सम्बोधनका क्रममा प्रधानमन्त्रीले भने, “नागरिकको जीवनरक्षाभन्दा महत्वपूर्ण कुरा अरु हुन सक्दैन। सामान्य अवस्थाका लागि बनेका नियमित प्रक्रियाहरु यस्तो असामान्य अवस्थाका लागि पर्याप्त हुँदैनन्। त्यसैले स्वास्थ्य उपकरणको आपूर्तिका लागि विशेष व्यवस्था गरिएको छ।” साथै उहाँले महामारीका विरुद्ध सरकारले रोकथाम, नियन्त्रण र उपचारको तीन सूत्रीय विधि अपनाएको र आवश्यक सुरक्षा उपकरणको व्यवस्था गरिएको बताए।

विश्व मानव जाति र मानवीय सभ्यताको रक्षा आजको विश्वको प्राथमिक महत्वको काम भएको स्पष्ट गर्दै उहाँले यो हामी सबैको साझा लडाईं भएको र समाजको हरेक सदस्य यस लडाईंमा आफैं एउटा सिपाही हो भन्ने कुरा मनन गर्नुपर्नेमा जोड दिँदै त्यसो गरेर कोरोना भाइरसलाई परास्त गर्न सक्ने विश्वास व्यक्त गरे। रासस
 

कमेन्ट लोड गर्नुस