सुदूर नेपाललाई विश्वसँग जोड्दै

लकडाउनमा सेती अस्पतालको शवगृहमा दोब्बर बढे शव

२०७६ चैत्र २५, ११:४२ खबर संवाददाता

धनगढी : देशका विभिन्न स्थानमा रहेका अस्पतालले अधिकासं स्वास्थ्य सेवा बन्द गरेपछि मृत्यु हुनेको सङख्या ह्वात्तै घटेको छ। लकडाउनसंगै आर्यघाटमा जलाउन लगिने शवको सङख्या पनि घटेको छ। तर सुदूरपश्चिमको राजधानी कैलालीस्थित धनगढीमा रहेको सेती प्रादेशिक अस्पतालमा पोष्टमार्टमका लागि पुगाईने शवको सङख्या भने घटेको छैन्। सेती प्रादेशिक अस्पतालमा पछिल्लो ६ महिनामा सबैभन्दा बढि शवको पोष्टमार्टम भएको छ। 

अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठका अनुसार चैत महिनाको २३ गतेसम्म मात्रै ४९ जनाको शव पोष्टमार्टम भएको छ। चैत महिनामा सवारी दुर्घटनामा ११ जनाको मृत्यु भएको छ भने २४ जनाले आत्महत्या गरेका छन्। हत्या गरिएका तीन जना र अन्य ११ गरी ४९ जनाको शव पोष्टमार्टम गरिएको सूचना अधिकारी श्रेष्ठले बताए। ११ गतेदेखि लकडाउन घोषणा गरिएकोमा त्यसपछि मात्रै २८ जनाको शव पोष्टमार्टम भएको छ।

चैतमा ३९ जनाको शव पोष्टमार्टम भएकोमा फागुनमा ३०, पुस, माघ र कार्तिकमा २७÷२७, मंसिरमा ४२, असोजमा ५२, भाद्रमा ३० र साउनमा ४० शवको पोष्टमार्टम भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ। अस्पतालका सूचना अधिकारी श्रेष्ठले चालु आर्थिक बर्षमा तीन सय २४ जनाको शव पोष्टमार्टम गरिएकोमा सबैभन्दा बढि एक सय ५४ जना आत्महत्याबाट मृत्यु भएकाको शव पोष्टमार्टम गरिएको बताए। यस्तै ५९ जना सवारी दुर्घटनाबाट मुत्यु भएका र २१ जना हत्या भएका व्यक्तिको शव पोष्टमार्टम गरिएको छ। 

यता जिल्ला प्रहरी कार्यालय कैलालीले भने आत्महत्याको क्रम लकडाउनमा पनि जारी रहेको तर अन्य अपराध घटेको जनाएको छ। लकडाउनपछि ७ जनाले जिल्लामा आत्महत्या गरेको बताउँदै जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले भने, ‘चैत ११ गतेपछि हत्या र सवारी दुर्घटनाबाट कसैले ज्यान गुमाएका छैनन्।’ सेती प्रादेशिक अस्पतालमा कैलाली बाहेक अन्य जिल्लाबाट पनि शव पोष्टमार्टमका लागि ल्याईने गरिएको छ।

 

कमेन्ट लोड गर्नुस