सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोभिड– १९ः ईक्वेडरमा शवहरु सडकमै अलपत्र

२०७६ चैत्र २४, ०३:११

ईक्वेडरको पश्चिमी शहर ग्वायाक्विलका सुनसान सडकमा अहिले शवहरु अलपत्र छोड्न थालिएका छन्। देशको सबैभन्दा बढी जनसंख्या भएको ग्वायाक्विलमा कोरोनाको संक्रमण बढेसंगै मानिसहरुको शव सडक किनार वा घरका बाहिर प्लास्टकमा बेरेर राखिएका छन्।

कोरोनाले महामारीको रुप लिएपछि त्यहाँका सार्वजनिक सेवा प्रदायकहरु अत्यधिक चापका कारण सेवादिन असमर्थ भएका छन्। अस्पताल, लाशघर, चिहान र दाहसंस्कार गर्ने सेवाप्रदायकहरु सबै खचाखच भरिएका छन्। करिब ३० लाख जनसंख्या भएको शहरमा मार्च २३ देखि ३० सम्ममात्रै ३ सयभन्दा बढी शवहरु सडकको किनार र घरहरुबाट संकलन गरेको सरकारी अधिकारीहरु बताउँछन। 

मृत्यु भएकामध्ये सबै कोरोनाकै कारण हो भनेर पुष्टी नभएको तर कतिपयमा उक्त संक्रमणसँग मिल्दोजुल्दो लक्षण पाइएको हो भने अन्य खालका बिरामीले उपचार नपाएरै मृत्यु भएको उनीहरुका परिवारले बताएका छन्। 

रायटर्सले ३० मार्चमा प्राप्त गरेको भिडीयोमा एकजना मृतकका परिवारका सदस्य फर्नान्डो ईस्पानाले भनेका छन् कि अधिकारीहरुलाई फोन गरेर शव व्यवस्थापन गर्न बोलाउँदापनि ५ दिन भइसक्दा कोही आएनन्। उनले शवलाई प्लास्टिकमा बेरेर गत्ताले छोपेर घर बाहिर राखेका छन्। अहिले सडक किनारमा छोडिएका शवहरुबाट दुर्गन्ध आउन थालेको छ। 

ग्वायाक्विलकी मेयर सिन्थीया भिटेरीले एकदम निराश हुँदै त्यसबारे केन्द्र सरकारसँग सहयोगको याचना गरेकी छन्। राष्ट्रपति लेनिन मोरेनोले राष्ट्रका नाममा सम्बोधन गर्दै कोरोना महामारीका संक्रमित र मृत्यु हुनेको तथ्याङ्कमा पारदर्शिता अपनाउन सबै तहका सरकारलाई आग्रह गरेका छन्। शवहरुलाई अस्थायी रुपमा राख्न सकियोस भनि अहिले शहरमा धेरै कन्टेनरहरु झिकाईएका छन्।

 हालसम्म ईक्वेडरमा ३ हजार ६ सय ४६ जना कोरोना संक्रमित भएको र १८० जनाको मृत्यु भएको सरकारी निकायले जनाएको छ। त्यसमध्ये ७० प्रतिशत भन्दाबढी ग्वायाक्विल शहरकै बासिन्दा रहेका छन्। त्यहाँका जनताले कोरोनाको संक्रमण र मृत्यु हुनेको संख्या सरकारले लुकाएको भनी विरोध भइरहेको छ। -सिएनएनको सहयोगमा श्याम भण्डारीद्वारा नेपालीमा रुपान्तरण

 

कमेन्ट लोड गर्नुस