सुदूर नेपाललाई विश्वसँग जोड्दै

लुकेर नेपाल प्रवेश गरेका थिए कञ्चनपुरका कोरोना संक्रमित

२०७६ चैत्र २२, ०५:११ खबर संवाददाता

धनगढी: शनिबार मात्रै सुदूरपश्चिमका थप तीनजनाका कोरोना संक्रमण देखिएको छ। धनगढीका पहिलो संक्रमित युवाकी ३४ वर्षीय भाउजु, भारतको मुम्बईबाट फर्किएका कैलालीको लम्कीका २१ वर्षीय पुरुष र उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरुषमा कोरोना संक्रमण भेटिएको हो।

योसँगै सुदूरपश्चिमका कोरोना संक्रमितको संख्या ४ पुगेको छ। यसैबिच कञ्चनपुरका संक्रमित लुकिछिपि नेपाल प्रवेश गरेको खुलेको छ। 

भारतको उत्तराखण्डबाट फर्किएका ती ४१ वर्षीय पुरूष कञ्चनपुरको वेदकोटका रहेको खुलेको छ। उनी चैत २ गते भारतको उत्तराखण्ड चम्फावत जिल्ला लुहाघाट सल्लीगाउँस्थित सडक निर्माणको काममा गएका थिए।

भारतमा कोरोनाको क्रास बढेपछि उनी नेपाल फर्केका थिए। नेपालका सीमा नाका बन्द भएपछि ती पुरुष पैदल हिँडेर महाकाली नदीको टनकपुर–ब्रह्मदेव क्षेत्रबाट अवैधानिक रुपमा ट्युवबाट नेपाल छिरेका पाइएको छ। 

अवैध बाटोमार्फत नेपाल छिरेको थाहा पाउने बित्तिकै चैत १४ गते ती पुरुषलाई सशस्त्र प्रहरीले पक्राउगरी भीमदत्त नगरपालिका–९ मटैनास्थित गडाचौकी पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। 

त्यसपछि सशस्त्र प्रहरीले उनीलाई गड्डाचौकीबाट बेदकोट गाउँपालिका–९ लालपुर गाडीमा हालेर पठाएको थियो। उनीलाई बेदकोट नगरपालिकाले सुन्दरपुर क्वारेन्टाइनमा राखेको थियो। त्यसै दिन राति उनीसँगै अन्य ९ जनालाई सुन्दरपुरमा रहेको क्वारेन्टाइनमा राखेर खाना खुवाएको पाइएको छ। 

अवैध बाटोमार्फत नेपाल आएको खबर थाहा पाउनेबित्तिकै नेपाली सेनाको मेडिकल टिमले उनको थ्रोट स्वाव परीक्षणका लागि लगेको थियो। र शनिबार उनको कोरोना रिपोर्ट पोजेटिभ आएको छ।

 हाल उनको पनि सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। अन्य तीन जस्तै उनको स्वास्थ्य अवस्थापनि सामान्य रहेको सेती प्रादेशिक अस्पतालले जनाएको छ।  
 

कमेन्ट लोड गर्नुस