सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरियामा कोरोना सङ्क्रमित चिकित्सकको मृत्यु

२०७६ चैत्र २२, ११:३६

कोरोना भाइरसबाट सङ्क्रमित एक कोरियन चिकित्सकको शुक्रबार मृत्यु भएको छ। उनी कोरियाको थेगुस्थित एक अस्पतालमा कार्यरत थिए। आफूमा कोरोना सङ्क्रमण भएको पाइएपछि उनी मार्च १९ देखि ख्याङ्बुक नेसनल युनिभर्सिटी अस्पताल थेगुमा उपचार गराइरहेका थिए। उनलाई आफ्नो मेडिकलमा आएका सङ्क्रमितबाटै जाँच गर्ने क्रममा सङ्क्रमण भएको हुनसक्ने आशङ्का गरिएको छ।

कोरियामा कोरनाका कारण शुक्रबारसम्म उनीसँगै मृत्यु हुनेको सङ्ख्या १७४ पुगेको कोरिया रोग नियन्त्रण केन्द्रले जनाएको छ भने हालसम्म सङ्क्रमितको सङ्ख्या १० हजार ६२ पुगेको छ। दक्षिण कोरियामा कोरोना भाइरस नियन्त्रणमा आइरहेको खबर सार्वजनिक भइरहेका बेला चिकित्सकको मृत्युले सिङ्गो मेडिकल क्षेत्रले शोक मनाइरहेको उनका सहकर्मीले जनाएका छन्।

उनीहरूले भनेका छन, “हामी हाम्रो सहकर्मीको उच्च सम्मान गर्दै कोरोनासँग डटेर लड्नेछौँ। कोरोना सङ्क्रमित प्रत्येक बिरामी उपचारपश्चात् सकुसल अस्पतालको ढोकाबाट मुस्कुराउँदै बिदा नभएसम्म हामी निरन्तर खट्ने छौँ।” कोरियामा कोरोना सङ्क्रमणका कारण चिकित्सकको मृत्यु भएको यो पहिलो घटना हो। रासस
 

कमेन्ट लोड गर्नुस