सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका ११ निजी अस्पताल, कतै ताल्चा कतै फार्मेसी मात्रै सञ्चालन

२०७६ चैत्र १८, १२:५६ खबर संवाददाता

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले सेती प्रादेशिक अस्पताललाई कोरोना विशेष अस्पताल तोकिसकेको छ। प्रदेश मन्त्रीपरिषद्को बैठकले कोरोनाको परिक्षण तथा चेकजाँचका लागि सेतीलाई ‘डेडीकेटेट’ (विशेष) अस्पताल तोक्ने निर्णय गरेकोमा अहिले प्रदेशको अस्थायी राजधानी धनगढीमा रहेका अधिकाशं निजी अस्पताल भने बन्द छन्।

धनगढीका निजी अस्पतालहरुले भर्ना नलिएका रुघाखोकी तथा ज्वरोका बिरामीको अहिले सेती प्रादेशिक अस्पतालमा चाप छ। निजी अस्पताल बन्द छन् भने सरकारले सेतीलाई कोरोना विशेष अस्पताल तोकेको छ। यसले अन्य विरामीको उपचारमा समस्या छ। यसैबीच मंगलवार हामी धनगढीका ११ वटा अस्पताल पुग्यौं। कुनैमा ताल्चा लगाईएको छ भने कुनैले फार्मेसी मात्रै सञ्चालन गरेका छन्। 

धनगढी नेत्रालय
मंगलवार विहान ११ बजे हामी धनगढी उप–महानगरपालिका वडा नम्वर ३ मा रहेको धनगढी नेत्रालय पुग्यौ। नेत्रालय पूर्ण रुपमा बन्द थियो। अस्पतालले आकस्मिक सेवा समेत सञ्चालन गरेको छैन्। 

सीपी अस्पताल
धनगढी नेत्रालयपछि धनगढी उप–महानगरपालिका वडा नम्वर ४ मा रहेको सीपी अस्पतालमा पुग्यौ। अस्पतालले गेटभित्र छिर्नअघि नै हातमा लगाउने सेनिटाइजर राखिएको थियो। आकस्मिक सेवा सुचारु थियो भने ओपीडी बन्द। कोरोना संकास्पद विरामीको उपचारका लागि अस्पतालमा कुनै व्यवस्थापन गरिएको छैन्। 

माया मेट्रो अस्पताल
धनगढी उप–महानगरपालिका वडा नम्वर ३ मै रहेको माया मेट्रो अस्पतालले सडक छेउमै हात धुने व्यवस्था गरेको छ। इमर्जेन्सी कक्ष अगाडि फिभर क्लिनिक चलाइएको छ। जहाँ एक स्वास्थ्यकर्मी साधारण पीपीई लगाएर खटिएकी छिन्। ति स्वाथ्यकर्मीले भने, ‘अस्पताल आउने अरु बिरामी तथा कर्मचारीलाई पनि ज्वरो जाँच गरेर भित्र पठाउने गरिएको छ।’ अस्पतालले कोरोना संक्रमणको आशंकामा पुग्नेहरुलाई आइसोलेसनमा राख्ने व्यवस्था भने गरेको छैन्। अस्पतालले आकस्मिक सेवा सञ्चालन गरेको छ। आईसियु र एनआईसियु पनि सुचारु छ। 

नवजिवन अस्पताल
हामी धनगढी उप–महानगरपालिका वडा नम्वर ४ मा रहेको नवजिवन अस्पताल पुग्यौ। उक्त अस्पतालले पनि अस्पतालको मुख्य ढोकाको अगाडि हात धुने व्यवस्था गरेको छ। ईमर्जेन्सी वार्डको अगाडि भेटिएका दुई जना अस्पतालका कर्मचारीले भने, ‘आकस्मिक बाहेका सेवा बन्द गरेका छौ। कोरोना संकास्पद विरामीको उपचारका लागि कुनै व्यवस्था छैन्।’

निसर्ग अस्पताल
धनगढी उप–महानगरपालिका वडा नम्वर ५ को निसर्ग अस्पतालमा पुग्यौं। अस्पताल अगाडीको दुई छेउमा हात धुने व्यवस्था छ। अस्पतालको इमर्जेन्सी कक्ष अगाडि फिभर क्लिनिक राखिएको थियो। साधारण पीपीईमा एक स्वास्थ्यकर्मी बसिरहेका थिए। उनले ट्राभल हिस्ट्री र लक्षणका आधारमा कोरोनाका आशंकित बिरामी छुट्याउने बताए। उनका अनुसार अस्पतालमै आइसोलेसनको व्यवस्था भने छैन्। अस्पतालममा आकस्मिक सेवा सञ्चालन गरिएको छ। आईसियु र एनआईसियु पनि सुचारु छ। 

सारथी अस्पताल
धनगढी उप–महानगरपालिका वडा नम्वर १ मा रहेको सारथी अस्पतालले पनि बाहिर हात धुने व्यवस्था गरेको छ। इमर्जेन्सी कक्ष अगाडि दुई जना कर्मचारी भेटिए। उनीहरुले भने, ‘हाम्रो अस्पतालमा अहिले ओपीडि सेवा पनि सञ्चालन गरेको छ। तर १० बजेदेखि २ बजे सम्म। त्यसबाहेकको समयमा भने आकस्मिक सेवा मात्रै सञ्चालन गरिरहेका छौ। कोरोनाका संकास्पद विरामीको उपचारका लागि भने कुनै व्यवस्था छैन्।’

नोभा अस्पताल
मुख्य बजारमै रहेको नोभा अस्पतालले पनि अस्पताल अगाडि हात धुने व्यवस्था गरेको छ। फिभर क्लिनिक छैन्। अस्पतालमै भेटिएका एक जना स्वास्थ्यकर्मीले भने, ‘कोरोना भाईरसको लक्ष्यण देखिए सेती प्रादेशिक अस्पताल पठाउने गरेका छौ। हामीसंग व्यक्तिगत सुरक्षाका उपकरण छैनन्।’

सिटी पोलीक्लिनिक
हामी ११ बजेर २५ मिनेटमा धनगढीको मुख्य बजार सेती प्रादेशिक अस्पतालको अगाडि रहेको सिटी पोलीक्लिनिकमा पुग्यौ। त्यहाँ सबै स्वास्थ्यसेवा भने बन्द गरिएको छ। यद्यपी अस्पतालले आफ्नो फार्मेसी भने सञ्चालन गरेको छ। 

कैलाली अस्पताल 
हामी साढे ११ बजे धनगढीको मुख्य बजार सेती प्रादेशिक अस्पतालको अगाडि नै रहेको कैलाली अस्पताल पुग्यौ। अस्पतालको फार्मेसी अगाडि हात धुने व्यवस्था गरिएको छ। अस्पतालले फार्मेसी र भिडियो एक्सरे सेवा सुचारु छ। ओपीडी बन्द छ। 

ओम आशा अस्पताल
धनगढी उप ण्महानगरपालिका क्याम्पस चोकमा रहेको ओम आशा अस्पताललले आकस्मिक वार्डमा पनि ताल्चा लगाएको छ। यद्यपी औषधी विक्रीका लागि भने फार्मेसी खोलिएको छ। फार्मेसीमै भेटिएका अस्पतालका एक जना कर्मचारी भने, ‘फार्मेसी खोलेकै छौ। कोही विरामी आए जाँच गरिहाल्छौ। अहिलेको अवस्थामा यो पनि धेरै हो।’

नवबुद्ध अस्पताल
धनगढी उप–महानगरपालिका वडा नम्वर ८ मा रहेको नवबुद्ध अस्पतालमा पनि ताल्चा लगाईएको छ। अस्पतालले आकस्मिक सेवा पनि सञ्चालन गरेको छैन्। फार्मेसी पनि बन्द छ।

कमेन्ट लोड गर्नुस