सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा लकडाउन : बिहान र दिउसो सन्नाटा, साँझ चहलपहल

२०७६ चैत्र १८, ०७:०४ खबर संवाददाता

धनगढी : आँठ दिनदेखि सिंगो देश लकडाउनमा छ। यो क्रम कम्तिमा पनि २५ चैत सम्म जारी रहनेछ। तर धनगढी बजार भने साँझ धेरै खुल्ला हुन्छ। धनगढीमै कोरोना संक्रमित फेला परेका छन् तर धनगढीवासीले अहिले पनि कोरोना भाईरसको रोकथामका लागि गरिएको लकडाउनको पूर्ण कार्यान्वयन गरेका छैनन्। कोही दैनिक उपभोग्य सामाग्री सकिएको भन्दै बजार डुलिरहेका भेटिन्छन् त कोही लकडाउनको माहोल नै हेर्न भनि बजार निस्किन्छन्। 

शुक्रबार एकाएक सञ्चारमाध्यममा खबर फैलिएपछि लकडाउनका बेला पनि घर वरपर टहलिदै गरेकाहरु झटपट भित्र पसेका थिए। त्यही दिनदेखि विहान र दिउसो धनगढीमा सन्नाटा छाएको हो। भर साँझ भने सधै चहलपहल हुने गरेको छ।

संघीय सरकारले लकडाउन घोषणा गर्नुअघिबाट कैलाली जिल्लामा स्थानीय प्रशासनले निशेषाज्ञा जारी गरेको थियो। निशेषाज्ञामा पनि अत्यावश्यक काम बाहेक बाहिर निस्किन नपाईने स्थानीय प्रशासनले बताएको थियो। दोश्रो दिनदेखि लकडाउन जारी भयो तर धनगढीमा साँझको समयमा सर्वसाधारणको आवतजावत निर्वाध हुन थालेको छ।

लकडाउनकैबीच धनगढी बजारमा भेटिएका अनिल चौधरीले भने,‘ घरमै बसेको साता पुगिसक्यो। आज बाहिरी माहोल हेर्नुप¥यो भनेर बजार आएको। साँझको समयमा त बजारमा चहलपहल नै हुने रहेछ।’ क्याम्पसचोकबाट एलएनचोक सम्म पुग्दा कतै प्रहरीले केरकार नगरेको उनको अनुभव थियो।

धनगढी बजारमै भेटिएका विष्णु चौधरीले भने घरमा दैनिक उपभोग्य सामाग्री सकिएपछि बजार निस्किएको बताए। उनले भने, ‘अत्यावश्यक कामका लागि बाहिर निस्किन पाईने प्रावधान प्रशासनले नै बनाएको हो। किराना पसल सञ्चालन भएपछि सामान खरिद गर्नेको भीड भईहाल्छ।’

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार लकडाउनकाबीच साँझको चहलपहल नियन्त्रण गर्न प्रहरीलाई सकस छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले भने, ‘दैनिक उपभोग्य सामाग्री खरिदको लागि अहिले दूरी निर्धारण त गरिएको छ। तर साँझ एक्कासी धेरै जना बजारमा आउँछन्। केही न केही अत्यावश्यक कामकै लागि बजार आउने भएकाले उनीहरुलाई कारवाही गर्न समस्या छ।’

कमेन्ट लोड गर्नुस