सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोभिड–१९ बारे जथाभाबी नबोल्न स्वास्थ्य मन्त्रालयको आग्रह

२०७६ चैत्र १७, ०८:४२ खबर संवाददाता

कोभिड–१९ का सम्बन्धमा जथाभाबी बोल्दा जनमानसमा नकारात्मक सन्देश जानेभएकाले स्वास्थ्यकर्मी तथा विभिन्न व्यक्तिलाई निजी धारणा बनाई सञ्चारमाध्यम र सामाजिक सञ्जालमा नबोल्न आग्रह गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ का सम्बन्धमा सञ्चारमाध्यम र सामाजिक सञ्जालमा जथाभाबी नबोल्न आग्रह गरेको हो।

मन्त्रालयको आज नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालका स्वास्थ्यविज्ञ डा.खेम कार्कीले कोभिड–१९ का सम्बन्धमा जथाभाबी बोल्नाले जनमानसमा नकारात्मक सन्देश गएकाले स्वास्थ्यकर्मी तथा विभिन्न व्यक्तिलाई निजी धारणा बनाई नबोल्न आग्रह गरेको बताए।

यसैगरी उनले अहिले कुनै पनि रोगले मानिसको मृत्यु भए पनि त्यो कोरोना भाइरसको कारणले भयो भन्ने प्रचार भएकाले त्यसो नगर्नसमेत सञ्चारमाध्यमलाई अनुरोधसमेत गरे। “अरू रोगले मान्छेको मृत्यु भयो भने अहिले कोरोना भाइरसको कारणले भन्ने गरिएको छ”, उनले भने, “नेपालमा अहिलेसम्म कोरोना भाइरसको कारणले कोही मरेको छैन। संक्रमण भएकाको अवस्था सामान्य छ।”

उनले अन्य मुलुकमा जस्तो नेपालमा कोरोना भाइरसको संक्रमण नफैलिएको भन्दै विदेशबाट फर्किएकालाई माया गरी राम्रोसँग होम क्वारेन्टाइनमा राख्ने हो भने कोरोना नफैलिने बताए।
 

कमेन्ट लोड गर्नुस