सुदूर नेपाललाई विश्वसँग जोड्दै

धार्चुलाबाट नेपालीको नाराबाजी ‘आफ्नो जनता फिर्ता लेउ’

२०७६ चैत्र १६, १०:५७ खबर संवाददाता

भारत पिथौरागढका विभिन्न क्षेत्रमा काम गरि फर्किएका साढे तीनसय बढि नेपालीले नेपाल आउनुपर्ने माग गर्दै सीमा क्षेत्रमै नाराबाजी गरेका छन्। तीन दिनदेखि धारचुलामा अलपत्र परेका नेपालीहरुले आफ्नो देश फर्किनुपर्ने माग गर्दै नाराबाजी गरेका हुन्।

धारचुलास्थित पूल नजिकैबाट नेपालतर्फ फर्केर उनीहरुले नेपालको नाका खुला गर, आफ्नो जनता फिर्ता लेउ भन्दै नाराबाजी गरेका छन्। नेपाल भारत दुवैतर्फ देश लकडाउन भएको अवस्थामा उनीहरुले आफ्नो ठाउँ फर्किनुपर्ने मागसहित नाराबाजी गरेका हुन्। भारतका विभिन्न क्षेत्रमा काम गर्दै गर्दा उनीहरुले आफ्नो देशमा फर्किन भन्दै पठाएपछि उनिहरु सीमामा अलपत्र परेका हुन्।

शुक्रबार बेलुकी ७ बजे र राती १० बजे दुई पटक पुल खोलेर २ सय २५ जनालाई नेपाल प्रवेश गराइएको थियो। तर १० बजेपछि धारचुलामा पुगेका नेपालीहरुले नेपाल आउन पाएनन्।  नेपाल भारत दुवैतर्फ लकडाउन गरिएको अवस्थामा नेपाली मजदुरहरु पैदल हिडेर पिथौरगढमा तिन दिन लगाएर धारचुला पुगेका छन्। भारतका होटलहरुमा समेत बस्न र खान नदिएपछि बाध्य भएर काम छोडेर फर्किनु परेको नेपालीहरुले जनाएका छन्।

जसमध्येका मार्मा गाउँपालिका ५ का दिलेन्द्र महताले तीन दिनदेखि खानेकुरा पाउन नसकेको बताए। भारत पिथौरागढका विभिन्न क्षेत्रमा काम गरि फर्किएर धारचुलामा अलपत्र परेका साढे तीनसय बढि नेपालीलाई उद्धारको लागि पहल भइरहेको प्रतिनिधि सभा सदस्य गणेशसिह ठगुन्नाले बताए। 
 

कमेन्ट लोड गर्नुस