सुदूर नेपाललाई विश्वसँग जोड्दै

पर्यटन, यातायात र स्वास्थ्य क्षेत्रले ५ दिनमै कर्जा पाउने

२०७६ चैत्र १६, ०८:१४ खबर संवाददाता

यातायात तथा पर्यटन क्षेत्रहरुले बैंक तथा वित्तीय संस्थाहरुबाट ५ दिनमै कर्जा पाउने भएका छन्। नेपाल राष्ट्र बैंकले आइतबार बैंक तथा वित्तीय क्षेत्रहरुलाई निर्देशन जारी गर्दै ५ दिनमै कर्जा उपलब्ध गराउन निर्देशन दिएको हो।

बैंकमा कर्जा भइरहेकाले पनि यस्तो सुविधा पाउने राष्ट्र बैंकले बताएको छ। नियमित रुपमा कर्जाको साँवा तथा ब्याज भुक्तानी गरिरहेका यातायात तथा पर्यटन क्षेत्रहरुलाई ५ दिनमै कर्जा दिने व्यवस्था मिलाउन राष्ट्र बैंकले भनेको हो। विशेष गरेर यी दुई क्षेत्रहरु कोरोनाका कारण धेरै प्रभावित भएको भन्दै सहुलियत दिइएको राष्ट्र बैंकका कार्यवाहक गभर्नर चिन्तामणि शिवाकोटीले बताए।

यसैगरी स्वास्थ्य क्षेत्रका लागि पनि यो सुविधा दिने कामु गभर्नर शिवाकोटीले बताए। उनका अनुसार स्वास्थ्य सेवा विभागले सूचिकृत एवं सिफारिस गरी स्वास्थ्योपचारसम्बन्धी आवश्यकीय मालवस्तु पैठारी तथा बिक्री वितरण गर्न कर्जा लिन चाहनेहरुले यो सुविधा पाउनेछन्। यी क्षेत्रहरुले कर्जा माग गरे ‘फास्ट ट्रयाक’ विधि अपनाएर बैंकहरुले बढीमा ५ दिनभित्रै कर्जा उपब्ध गराउनु पर्ने कामु गभर्नर शिवाकोटीले बताए।
 

कमेन्ट लोड गर्नुस