सुदूर नेपाललाई विश्वसँग जोड्दै

बिरालोमा देखियो कोरोना भाइरस

फाईल फोटो
फाईल फोटो
२०७६ चैत्र १६, १२:१५ खबर संवाददाता

बेल्जियममा एक बिरालोमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको पुष्टि भएको छ। घरमालिकबाट बिरालोमा कोरोना भाइरस सरेको बताइएको छ। द ब्रसेल्स टाइम्सका अनुसार बिरोका घरमालिक हालै इटालीबाट फर्केका थिए। बिरालोको दिशाबाट कोभिड–१९को संक्रमण भएको पुष्टि गरिएको हो।

विशेषज्ञहरुले भने यो घटना अपवाद भएको भन्दै आफ्ना घरेलु जनावर र उनीहरुबाट आफ्नो सुरक्षाको विषयमा नडराउन सबैलाई आग्रह गरेका छन्। जनावर संक्रामक रोग विशेषज्ञले भने यस यो घटनाको विषयमा प्रश्न उठाएका छन्। यूनिभर्सिटी अफ घेन्टको भेटेरिनरी मेडिसिनका प्राध्यापक तथा संक्रामक रोग विशेषज्ञ हान्स नाउयन्कले यो समाचारले आफूलाई अचम्मित पारेको बताए।

लिग यूनिभर्सिटीको प्रयोगशालामा उक्त बिरालोमा संक्रमण रहेको पुष्टि भएको हो। उक्त बिरालोमा कोरोना भाइरस सर्ने मानिस बाहेक अन्य कुनै माध्यम नरहेको निष्कर्ष वैज्ञानिकहरुले निकालेका छन्। केहीले भने यो परीक्षणको विश्वसनीयतामाथि प्रश्न उठाएका छन्। यसबारे अझै धेरै परीक्षण गरिनुपर्ने उनीहरुको तर्क छ। यसबारेमा थप परीक्षण नगरिए त्यसले राम्रो नतिजा नदिने आलोचकहरुले बताएका छन्।

यसले मानिसहरुमा आफ्नो घरपालुवा जनावरको बारेमा डर उत्पन्न गर्ने उनीहरुको भनाई छ। अहिले बिरालोको स्वास्थ्य अवस्था राम्रो रहेको र घरमालिकको स्वास्थ्य अवस्थामा पनि सुधार आइरहेको बताइएको छ। एजेन्सी
 

कमेन्ट लोड गर्नुस