सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोभिड–१९: कञ्चनपुरमा सचेतनामा जनाउँदै जनप्रतिनिधि

२०७६ चैत्र १४, ०४:०३

कञ्चनपुर: कञ्चनपुरको कृष्णपुर नगरपालिकाका जनप्रतिनिधि कोभिड – १९ को सम्भावित जोखिम हुन नदिन नगरवासीलाई सचेतना फैलाउन अहोरात्र  खटिएका छन।  

साबुन पानीले पटक पटक हात धुन, घर भित्रै बस्न, गाउँभन्दा अन्यत्रबाट  आएकालाई अलग क्वारेण्टाइनमा राख्न र उच्च ज्वरो लगायतका  लक्षण देखा परे तत्काल ‘हेल्थ डेस्क‘मा सम्पर्क गर्ने लगायतका जानकारी उनीहरुले प्रदान गरिराखेका छन्।  

कोरोना भाइरसको सम्भावित जोखिम रोक्न  नगर प्रमुख कर्णबहादुर हमालको संयोजकत्वमा पूर्व तयारी प्रति कार्यसम्बन्धि नगरपालिका स्तरीय ३३ सदस्यीय समिति गठन गरी परिचालन गरिएको छ। नौ वटै वडामा वडा स्तरीय वडा समिति गठन गरी स्वास्थ्यकर्मी र महिला स्वयंसेविका परिचालन गरिएका छन।  

गठित समितिले शंकास्पद व्यक्तिको विवरण सङ्कलन, क्वारेण्टाइनमा राख्न, अस्पताल पु¥याउन र हेल्थ डेस्क व्यवस्थापनको कार्यमा क्रियाशील रहेको उनले बताए। “विशेष परिस्थिति बाहेक घर बाट बाहिर निष्कन नगरवासीलाई निषेध गरेका छौं  उनले भने,  “भारत लगायत बाह्य मुलुकबाट फर्केकाहरुलाई निगरानीमा राखिएको छ। यसका लागि महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मी, जनप्रतिनिधिको सहयोग लिइएको छ।”

अन्यत्रबाट फर्किएकालाई नगरपालिकाको वडा नं ७ मा छुट्टै हेल्थ डेस्कको व्यवस्था गरेको छ। नगरपालिकाले  वडा नं १,२,३ को बाणि बजार, वडा नं ४,५,६ को  गुलरीया बजार, वडा नं ७ र ८ को बासिन्दालाई पायक पर्ने वडा नं ८ को कार्यालयमा हेल्थ डेस्कको व्यवस्था गरेको छ।  

गुलरीया बजारकै कञ्चन बहुमुखि क्याम्पसमा क्वारेण्टाइनको व्यवस्था गरिएको छ। ५ लाख ५० हजारको लागतमा स्वास्थ्यकर्मीका लागि सुरक्षा उपकरण र पोशाकको व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ।  नगरप्रमुख हमालले नगरवासीलाई आवश्यक पर्ने खाद्यान्न, औषधि, तरकारी खरिद गर्नका लागि निश्चित समय निर्धारण गरिएको जानकारी दिए। स्वास्थ्य परीक्षणका लागि अस्पताल लैजान एम्बुलेन्स सेवाको व्यवस्था गरिएको छ। 

हाल सम्म नगर क्षेत्रमा  कोरोना भाइरसका शंकास्पद विरामी फेला परेका छैनन्। क्षेत्रफलका दृष्टिकोणले कृष्णपुर नगरपालिका जिल्लाका सबै भन्दा ठुलो नगरपालिका हो।  अधिकांश परिवार गहुँ बाली लगाए पछि जिल्लाका बाह्य क्षेत्र र भारतमा रोजगारीका लागि जाने गरेका छन।

भारतमा कोरोनाको जोखिम  बढेपछि बाह्य क्षेत्र र भारतमा काम गर्ने घर फर्केका छन्। सीमा क्षेत्रमा स्वास्थ्य स्वास्थ्य जाँच गराएर अधिकांश फर्केका छन्। कुनै “स्वास्थ्य समस्या परे सम्पर्कमा भनेका छौ” नगरप्रमुख हमालले भने।  –रासस

कमेन्ट लोड गर्नुस