सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोनाबारे भ्रम फैलाउन मध्यरातमा फोन, भ्रमको पछि नलाग्न प्रहरीको आग्रह

२०७६ चैत्र १४, ०७:३६ खबर संवाददाता

धनगढी : धनगढीमा बस्दै आएका तीर्थराज भट्ट हाल स्थायी घर डोटीको जोरायल गाउँपालिकामा छन्। बिहिवार मध्य राती उनलाई फोन आयो र उनले फोन उठाए। फोनमा सन्देश थियो, ‘घरको मूल ढोका अगाडिको आँगन उज्यालो नहुँदै आजै खन्नुहोस्। त्यहाँ कालो अँगार जस्तो वस्तु भेटिने छ। त्यसको घरपरिवार सबैका निधारमा तिलक लगाउनुहोस् कोरोना भेद हुन्छ अर्थात लाग्दैन्।’

त्या फोन सन्देश उनलाई मात्रै होईन धेरै छिमेकीलाई पनि आएको रहेछ। चार बजे बिहानै गाउँटोलका सबै स्थानीय आँगन खन्न लागे। त्यस्तै सन्देश सहितको फोन धनगढी निवासी सीताराम भट्टलाई पनि आएको जानकारी उनले सामाजिक सञ्जाल मार्फत गराएका छन्। 

धनगढीकै प्रकासराज भट्टलाई पनि बिहानै पाँचै बजे फोन आएपछि उनले फोन उठाउँदा उताबाट सन्देश थियो, ‘घरको मूल ढोका अगाडिको दायाँतर्फ आँगनमा उज्यालो नहुँदै खन्नुहोस् त्यहाँ कालो अँगारजस्तो वस्तु भेटिने छ। त्यसको घरपरिवार सबैका निधारमा तिलक लगाउनुहोस् त्यो कोरोनाको औषधी हो।’ यो सन्देश सहितको फोन अहिले सुदूरपश्चिमका धेरै जिल्लामा गईरहेको छ। 

घर अगाडी अधिकासंले आगो बाल्ने र त्यहाँ अंगार भेटिने नै हुने भएकाले भ्रम फैलाउनका लागि यो सन्देश फैलाईएको धेरैको बुझाई छ।

यता जिल्ला प्रहरी कार्यालयहरुले भने त्यस्तो भ्रमको पछि नलाग्न आग्रह गरेको छ। अहिले कोरोनाको सन्त्रास फैलिएका बेला कतिपयले भ्रम समेत फैलाउने प्रयास गरिरहेको भन्दै प्रहरी कार्यालयहरुले त्यस्ता भ्रमलाई प्रचारमा नल्याउन पनि सुझाव दिएका छन्।

अहिले सम्म फोन सन्देश मार्फत भ्रम फैलाईएको बारे जानकारी नआएको बताउँदै जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले भने, ‘कैलाली जिल्लाबाट त्यो भ्रम फैलाउने प्रयास भएको छ भने हामी खोजी गर्छाै।’ केही दिन अगाडी फेसवुकमा नेपालमा कोरोनाका धेरै संक्रमित भेटिएको भन्दै भ्रम फैलाउनेलाई प्रहरीले पक्राउ गरेको थियो।

कमेन्ट लोड गर्नुस