सुदूर नेपाललाई विश्वसँग जोड्दै

पातको मास्क लगाउँछन् आदिवासी

। फोटो स्रोत ।
२०७६ चैत्र १३, १२:५४ खबर संवाददाता

कोरोना भाइरसबाट बच्न केहीले तीन पत्र भएको मास्क लगाउन सुझाएका छन् भने चिकित्सकहरुले एन–९५ मास्क लगाउन सुझाव दिएका छन्। तर, कोरोना भाइरसको जोखिमबारे कसैले सुनाएपछि भारतको छत्तीसगढको बस्तर क्षेत्रका आदिवासीले पातको मास्क बनाएर लगाउन थालेका छन्। 

कान्केर जिल्लाको अन्तागढका केही गाउँमा पञ्चायत भवनमा बोलाइएको बैठकमा सहभागी हुन त्यहाँका आदिवासीहरु पातको मास्क लगाएर उपस्थित भएका थिए। भर्रिटोला गाउँका एक युवकले भने, ‘हामीले गाउँमा बाहिरबाट आएको मानिसलाई प्रवेश दिएका छैनौं। हामीसँग मास्क छैन। त्यसैले हाम्रो गाउँमा मानिसहरु घरबाट बाहिर जानु परे पातको मास्क नै प्रयोग गर्छन्।’

स्थानीय न्युज बेवसाइटका लागि काम गर्ने टोकेश्वर साहूले एक गाउँबाट आर्को गाउँमा पातको मास्क र्पुयाइने बताए। उनले भने, ‘यहाँका कयौं गाउँमा पातको मास्क लगाइन्छ। यहाँका आदिवासीहरुले एक दिन लगाएको पातको मास्क अर्को दिन लगाउँदैनन्। उनीहरुले अर्को दिन नयाँ मास्क बनाएर लगाउने गरेका छन्।’

चिकित्सकका अनुसार यस किसिमको मास्कले एक हदसम्म बचाउ गर्ने भए पनि श्वास फेर्न भने समस्या हुने गरेको छ। रायपुरका चिकित्सक डा। अभिजित तिवारीले भने, ‘आदिवासी समाजले वर्षौंदेखि आफ्नो परम्परा र ज्ञानले हामीलाई समृद्ध बनाएको छ। उनीहरुको पारम्पारिक ज्ञानले हामी अचम्मित पारेका छौं। तर, कोरोना भाइरसको संक्रमण फैलिरहेका बेला उनीहरु पनि अन्य नागरिक सरह आआफ्नै घरमै बस्नु उचित हुन्छ। सरकारले उनीहरुलाई कपडाबाट बनेको मास्क निःशुल्क वितरण गर्नुपर्छ। जसलाई धोएर फेरि–फेरि उपयोग गर्न सकिन्छ।’

आदिवासी परम्परा र पात!

बस्तरका आदिवासीहरुको जीवनमा पातको निकै महत्त्व छ । खाना खानका लागि उनीहरुले साल, सियाडी र पलाशको पातको थाली, दुनाको प्रयोग गर्छन् । मदिरा पिउनका लागि महुआका पातको प्रयोग गर्छन्। 

देवी–देवताको प्रसादका लागि पनि उनीहरुले पातको उपयोग गर्छन् । यी आदिवासीहरुले कपालमा पात लगाउनुका साथै घाँटीमा पातको माला उनेरसमेत लगाउने प्रचलन छ। छत्तीसगढमा करिब १४ लाख आदिवासी परिवार छन्। उनीहरुको आयको मुख्य स्रोत टेन्डुको पात अथवा बिँडीको पात मानिन्छ।  बीबीसी
 

कमेन्ट लोड गर्नुस