सुदूर नेपाललाई विश्वसँग जोड्दै

दुग्ध सहकारीद्धारा कृषकलाई मास्क वितरण

२०७६ चैत्र १३, ०५:४४

माछापुछ्रे गाउँपालिका–३ घाचोकमा अवस्थित पीपलबोट दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले पशुपालक कृषकलाई मास्क वितरण गरेको छ। विश्वभर फैलिइरहेको नोवल कोरोना भाइरस(कोभिड–१९) को सङ्क्रमण न्यूनिकरणका लागि सहकारीले आज मास्क वितरण गरेको हो। 

कोरोना सङ्क्रमण रोक्न सरकारले घोषणा गरेको ‘लक डाउन’मा समेत कृषकले आफ्नो घर गोठमा काम गर्नुपर्ने बाध्यता रहेकाले उनीहरुलाई कोरोनाको सङ्क्रमणबाट सुरक्षित गर्न मास्क वितरण गरिएको सहकारीका सचिव गोपाल पोखरेलले बताए।

सहकारीले सम्भावित जोखिमबाट अधिकतम सुरक्षा अपनाउँदै आफ्नो दैनिकी सञ्चालन गर्न पशुपालक कृषकलाई आग्रह गर्दै अवलम्वन गर्नुपर्ने उपायका बारेमा जानकारी गराइएको उहाँको भनाइ छ। सहकारीमा दूध लिएर आउँदा समेत कृषकलाई भीडभाड नगर्न तथा पालो गरेर आउन आग्रह गरिएको सहकारीले जनाएको छ। 

घाचोकबाट मात्रै दैनिक तीन हजार ५०० लिटर दुध बजारमा विक्रीका लागि आउने गरेकामा लकडाउनका कारणले उद्योग व्यवसाय  तथा पसल बन्द हुँदा आफूहरु मर्कामा परेको कृषकहरुको गुनासो छ। गाउँपालिकाभरबाट दैनिक १० हजार ५०० लिटर दूध पोखरामा आउने गरेको गाउँपालिकाको पशु सेवा शाखाका प्रमुख रामचन्द्र पौडेलले बताए। रासस
 

कमेन्ट लोड गर्नुस