सुदूर नेपाललाई विश्वसँग जोड्दै

इटलीमा अनावश्यक घरबाहिर निस्किए ४ लाख रुपैयाँ जरिबाना

२०७६ चैत्र १२, ०५:२४ खबर संवाददाता

कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण फैलिने क्रम बढेसँगै इटली सरकारले थप कडाइ गरेको छ। मङ्गलबार राति देशको नाममा सम्बोधन गर्दै इटलीका प्रधानमन्त्री जिजेज्पी कोन्टेले बुधबारदेखि बिना कारण घरबाहिर निस्किनेले तीन हजार युरो जरिबाना तिर्नुपर्ने बताएका छन्। यो रकम तीन लाख ९७ हजार तीन सय ३८ नेपाली रुपैयाँ हुन आउँछ। 

यसअघिसम्म यो जरिबाना रकम दुई सय ६ युरो थियो। प्रधानमन्त्री कोन्टेले यसअघि बिना कारण निस्किने कार र अन्य सवारीसाधन जफ्त गर्न प्रहरीलाई आदेश दिएको भन्ने कुराको खण्डन पनि गरे। उनले खाद्य र पेट्रोल आपूर्तिमा कुनै कमी नआउनेमा जोड दिएका छन्। 

साथै प्रधानमन्त्री कोन्टेले आउँदो ३१ जुलाईसम्म लगाइएको आपत्कालअघि नै मानिसहरु सामान्य अवस्थामा फर्कनेमा विश्वस्त पारे। ६ महिने लामो आपत्काल लगाइनुको मतलब मानिसहरुमाथि पनि प्रतिबन्ध लगाइराख्नु नभएको उनले प्रस्ट पारे। अवस्था सामान्य हुन सुरु भएसँगै प्रतिबन्ध पनि हट्दै जाने उनले विश्वास दिलाए। 

इटलीको सबैभन्दा बढी कोरोना प्रभावित इलाका लम्बार्डीका नागरिकलाई घरबाट दुई सय मिटरभन्दा टाढा कुकुर डुलाउन लैजान प्रतिबन्ध लगाइएको छ। इटलीमा देखिएको कोरोना भाइरस सङ्क्रमणको ५० प्रतिशतभन्दा बढी हिस्सा लम्बार्डीले ओगटेको छ। साथै कोही व्यक्ति घरबाट निस्किएर कुनै भिडको हिस्सा बन्छ भने उसलाई पाँच हजार युरोसम्मको जरिबाना हुनसक्ने जनाइएको छ।   

कमेन्ट लोड गर्नुस