Covid-19(Coronavirus) update
World Nepal
Confirmed
Recovered
Deaths

मेलम्ची आयोजनालाई प्रभाव

२०७६ चैत्र १२, ०१:२५
अ+

मेलम्ची खानेपानीलगायत सिन्धुपाल्चोकमा सञ्चालित सबै योजनाका काम ठप्प भएका छन्।  कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन सरकारले देशभर लकडाउन गरेपछि  राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनमा समेत  प्रत्यक्ष प्रभाव परेको छ। देशभर लकडाउन भएपछि  आयोजनामा भइरहेको सबै काम रोकिएको मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले भने।

एक साताअघि मात्रै खानेपानीमन्त्री विना मगरको उपस्थितिमा आयोजनाको सुरुङमा पानी हालेर पहिलो परीक्षण सम्पन्न भएको थियो। आगामी बडादशैँअघि नै मेलम्चीको पानी काठमाडौँमा ल्याउने योजनानुसार तीव्र गतिमा काम भइरहे पनि कोरोनाका कारण अब ढिला हुन सक्ने कार्यकारी निर्देशक खत्रीले बताए। आयोजनास्थलमा काम गर्ने स्थानीय मजदूर घर फर्के पनि विदेशी मजदूर भने आयोजनास्थलमा नै सुरक्षितसँग बसिरहेको खत्रीले बताए।

कोरोनाका कारण जिल्लामा निर्माणाधीन जलविद्युत् आयोजनादेखि अन्य सबै निर्माणका काम रोकिएका छन्। एक सय दुई मेगावाटको मध्यभोटेकोशी जलविद्युत् आयोजनाको काम पनि सबै रोकिएको आयोजना प्रमुख सुनिलकुमार लामाले जानकारी दिए। त्यस्तै जिल्लामा स्थानीय, प्रदेश र सङ्घबाट सञ्चालित विभिन्न विकासनिर्माणका  काम पनि रोकिएको छ। -रासस