सुदूर नेपाललाई विश्वसँग जोड्दै

इटलीमा २४ घण्टामा ७४३ को मृत्यु

फाईल फोटो
फाईल फोटो
२०७६ चैत्र १२, ०६:२० खबर संवाददाता

कोरोना भाइरस (कोभिड १९) को संक्रमणका कारण नराम्रोसँग प्रभावित भएको इटलीमा गत २४ घण्टामा ७४३ जनाको मृत्यु भएको छ। यो संख्या सोमबारको भन्दा १४१ ले बढी हो। इटलीमा हालसम्म कोरोनाका कारण ६ हजार ८२० जनाको ज्यान गइसकेको छ। इटलीमा आइतबार र सोमबार मृत्युको संख्या केही कम देखिएको थियो। तर मंगलबार फेरि बढ्नाले चिन्ता थपिदिएको छ।

बढ्दो मृत्युलाई हेर्दा इटलीमा कोरोनाको कहर तत्काल रोकिने संकेत नदेखिएको बीबीसीले लेखेको छ। कोरोना संक्रमणका कारण इटलीमा बिहीबार ४२७, शुक्रबार ६२७ र शनिबार ७९३ जनाको मृत्यु भएको थियो। तर आइतबार घटेर ६५१ र सोमबार झन् घटेर ६०२ जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक भएको थियो। मंगलबार भने बढेर ७४३ जनाको मृत्यु भएको छ। यो संख्या सोमबारको तुलनामा १४१ ले बढी हो।

इटलीमा मृत्यु किन बढीरहेको छ?

इटली कोरोना भाइरसबाट विश्वका सबैभन्दा बढी प्रभावित देशको सूचीमा छ। यहाँ ६ हजार ८ सय २० जनाले ज्यान गुमाइसकेका छन्। इटलीमा संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सबैभन्दा लामो समयदेखि लकडाउन गरिएको छ। तर पनि मृत्यु रोकिएको छैन। इटलीको उत्तरी क्षेत्र लोम्बार्डो कोरोनाबाट सबैभन्दा बढी प्रभावित छ। सबैभन्दा धेरै मृत्यु पनि यहीँ नै भएको छ। आखिर इटली किन यति धेरै प्रभावित भयो भन्ने प्रश्नको ठ्याक्कै उत्तर पत्ता लगाउन विशेषज्ञहरुले सकेका छैनन्।

महामारी विशेषज्ञ पियरलुइजी कोकोले बीबीसीसँग भनेका छन्, ‘अहिले नै यसको कारण यही नै हो भनेर ठोकुवा गर्नु हतार हुने छ। धेरै कारणहरु हुन सक्छन्। एक त अनुवांशिकी कारण हुनसक्छ। केही व्यक्ति बिना कुनै लक्षण पनि संक्रमित पाइएका छन्। कतिपयलाई संक्रमण देखिएको छैन। इटली विश्वका सबैभन्दा धेरै पाका व्यक्ति भएको देश हो। बढी उमेरका व्यक्ति संक्रमणको चपेटामा छिटो आउँछन् र उनीहरुलाई जोगाउन मुस्किल हुन्छ।’

कोको भन्छन्, ‘इटलीका जनताको साँस्कृतिक र सामाजिक गतिविधि पनि संक्रमण फैलाउन मद्दत गरेको छ। यहाँका जनता समूहमा बस्छन, भेट्नासाथ एकअर्कालाई चुमेर प्रेम साटासाट गर्छन्। परिवारका सदस्यहरु पनि आपसमा निकै नजिक हुन्छन्।’ यद्यपि कोकोले इटलीको उत्तरी इलाकामा मृत्युको संख्या बढ्नुमा त्यहाँको वायु प्रदुषण पनि हुन सक्ने आशंका गर्छन्।

इटलीमा कोरोना भाइरसका कारण मृत्युको संख्या बढे पनि संक्रमण दरमा भने केही दिनयता केही कमी आएको छ। इटलीका अधिकारीहरुका अनुसार संक्रमण दर एक प्रतिशतले घटेको छ। व्यक्तिगत दुरी बढाउने नियमको कडा पालना गर्दा संक्रमणको दर घटेको बताइएको छ। इटलीमा कोरोना भाइरसबाट संक्रमित भएकाहरुको संख्या ६९ हजार १ सय ७६ छ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का अनुसार कोरोना भाइरस १९५ देशमा फैलिएको छ। यसबाट १६ हजार ३६२ जनाको मृत्यु भइसकेको छ भने ३ लाख ७५ हजार ४ सय ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
 

कमेन्ट लोड गर्नुस