सुदूर नेपाललाई विश्वसँग जोड्दै

गौरीफन्टा र गड्डाचौकी नाकामा रोकिएका बिरामीको बिजोग

२०७६ चैत्र ११, ०२:५९ खबर संवाददाता

कञ्चनपुरको वेदकोट नगरपालिका ६ सिसैयाकी ४५ वर्षीया ठगु सार्की पेट दुख्ने समस्या देखिएपछि उपचारका लागि भारतको सितारगञ्ज गएकी थिईन्।  सात दिन पहिले सीतारगन्जको पदमा अस्पतालमा पाठेघरको शल्यक्रिया भएको थियो। सात दिनपछि डिस्चार्ज भएपछि उनी फर्किईन् तर सरकारले लकडाउन गरेपछि उनी अहिले गड्डाचौकी नाकामा अलपत्र परेकी छन्।

पेटकै समस्याका कारण कैलालीको टीकापुर नगरपालिका– २ की ६० वर्षीया बर्मा जोशी पनि उपचारका लागि पदमा अस्पताल पुगेकी थिइन्। उनको पनि ठगुको जस्तै ७ दिन पहिले पाठेघरको शल्यक्रिया भएको थियो। पेट सम्बन्धीकै समस्या देखिएपछि भीमदत्त नगरपालिका– ४ महेन्द्रनगर बसपार्कका ६१ वर्षीया राम खड्का पनि उपचारका लागि भारतै गए।

उनको पनि ८ दिन पहिले पित्तथैलीको शल्यक्रिया गरियो। ठगु, बर्मा र रामको जस्तै पेट, पित्तथैली विभिन्न रोगको उपचारार्थ भारतको पदमा अस्पतालमा रहेका नेपाली बिरामीलाई आइतबार राति नै डिस्जार्ज गरियो। तर उनीहरु लकडाउनका कारण सीमा नाकामा पुगेर अलपत्र परेका छन्। भारतमा समेत कोरोनाको संक्रमण र लकडाउन गरिएपछि अस्पतालले नै उनीहरुलाई सीमा नाका सम्म पुगाएको थियो।

गड्डाचौकी पुगेका १८ बिरामीसहित उनीहरूका कुरुवा समेतका ३९ जना झण्डै ७ घण्टादेखि नाकामै अलपत्र परेका छन्। बिरामीले उपचारपछि राम्रोसँग आराम गर्नुपर्ने भए पनि उनीहरू सडकमै सुुतिरहेका छन्। नेपाल भारतका सीमा बन्द तथा नेपाललाई लकडाउन गरेपछि त्यहाँबाट नेपाल प्रवेश गर्नका लागि प्रहरीले रोक लगाएपछि बिरामीहरूको बिचल्ली भएको छ।

उनीहरू कोही सडक, कोही बन्द रहेका पसलका बाहिरपटि बसिरहेका छन्। बिरामी र कुरुवाका लागि कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जंगबहादुर मल्लले पानी र चाउचाउ वितरण गरेका छन्। बिरामीका कुरुवाहरूले आफ्ना विरामीलाई उपचार गरी स्वदेश फर्कदा कठिनाई भएको र सृजित अवस्था अनुसार कसरी सहज हुन्छ सोही अनुसार व्यवस्था गर्न माग गरेका छन्।

कैलालीको गौरीफण्टा नाकामा हजारौं नेपाली अलपत्र पर्दासमेत सरकारले उनीहरूको स्वास्थ्य र उद्दारको विषयमा केही नसोचेको भन्दै बिरोध भईरहेको छ। स्थानीय प्रशासनका अधिकारीले लकडाउन भनेपछि कलडान भन्दै जवाफ दिने र जनप्रतिनिधी स्थानीय र प्रदेश सरकारले पनि कुनै पहल नगरेको भन्दै अलपत्र परेकाहरूले विरोध जनाएका छन्।

गड्डाचौकीमा अडकिएका बर्मा जोशीले आफुहरू रोक्नु प्रहरी प्रशासनको जायज काम भए पनि रोकि सकेपछि अन्य विकल्प सृजना गर्नु पर्नेमा नभएको बताए। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचनप्रसाद भट्टको सचिवालयले सीमा क्षेत्र गड्डाचौकी र गौरीफण्टा नाकामा अलपत्र परेका र सीमा नजिकै अलपत्र परेका नेपालीको उद्दारका बारेमा छलफल भइरहेको जनाएको छ। मुख्यमन्त्री भट्टका स्वकीय सचिव प्रेम कुँवरले अलपत्र परेका नेपालीको उद्दारका विषयमा छलफल भइरहेको तर निर्णय भने भइनसकेको बताए। 

कमेन्ट लोड गर्नुस