सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा पत्रिका बन्द गर्न आव्हान, बतासे झर्ना जान निषेध

२०७६ चैत्र १०, ०६:११

कञ्चनपुर: कञ्चनपुरबाट प्रकाशित हुने पत्र–पत्रिका बन्द गर्न नेपाल पत्रकार महासंघ जिल्ला शाखाले आव्हान गरेको छ। महासंघका अध्यक्ष विष्णु अवस्थीले आज प्रेस विज्ञप्ती जारी गरेर कोरोना भाइरसको महामारीबाट बच्न सो आव्हान गरेको हो।

पत्रिका प्रकाशनमा कागजको अभाव, छापाखानाका कामदारसमेत क्वारेण्टाइनमा बस्नुपर्ने भएकाले महामारीको प्रभाव नरोकिँदासम्म पत्रपत्रिका बन्द गर्न आव्हान गरिएको हो। पत्रपत्रिकाको काम बन्द गरी घरमै क्वारेण्टाइनमा रहन र घरबाटै सामाजिक सञ्जाल तथा अनलाइनमार्फत समाचार सम्प्रेषण गर्न अध्यक्ष अवस्थीले सबै पत्रकारलाई अनुरोध गरेका छन्।

“माइक्रोफोनमा बोल्दाखेरी थुकका छिटा माइक्रोफोनमा पर्ने र सोही माइक्रोफोन आफुतिर फर्काएर बोल्दा अन्तर्वाता लिने सञ्चारकर्मी पनि जोखिममा पर्नसक्ने भएकाले भिडभाड नगरी टेलिफोनबाटै सूचना लिएर समाचार सम्प्रेषण गर्न रेडियोकर्मी लगायतका पत्रकारलाई अनुरोध गर्दछु”, विज्ञप्तीमा भनिएको छ। 

बतासे झर्ना जान निषेध 
शुक्लाफाँटा नगरपालिका क्षेत्र भित्र रहेको पर्यटकीय क्षेत्र बतासे झर्ना जान निषेध गरिएको छ। कोरोना भाइरसको संक्रमणलाई मध्यजनर गर्दै आजदेखि सो पर्यटकीय क्षेत्रमा जान निषेध गरिएको हो। 

जिल्लाका मुख्य बजारहरु बन्द गरिएपछि परिवारसहित बतासे झर्ना पुग्ने पर्यटकको सङ्ख्या बढ्न थालेपछि सम्भावित संक्रमण रोक्न उक्त क्षेत्र जान निषेध गरिएको वडा अध्यक्ष बहादुर महराले बताए।-रासस

कमेन्ट लोड गर्नुस