सुदूर नेपाललाई विश्वसँग जोड्दै

भोलिदेखि एक सातासम्म भारत र चीनतर्फको नाका बन्द गर्ने सरकारको निर्णय

२०७६ चैत्र ९, ०९:१६ खबर संवाददाता

सरकारले भारत र चीनतर्फका सबै सीमा नाका एक सातासम्म बन्द गर्ने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले सीमा नाका बन्द गर्ने निर्णय गरेको हो। एक मन्त्रीका अनुसार भोलि विहान १० बजेबाट एक साताका लागि नाका बन्द गरिनेछ।

भारतमा कोरोनाको संक्रमण देखिएपछि नेपालले सीमा नाका बन्द गर्ने प्रस्ताव राखेको थियो। तर भारतले ठोस जवाफ नदिँदा निर्णय हुन सकेको थिएन। यही बेला रोजगारी तथा अध्ययनका लागि भारत गएका हजारौं नेपाली फर्किएका छन्।

यसले कोरोनाको संक्रमण फैलिने जोखिम बढेपछि शनिबार बसेको कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको बैठकमा मन्त्रीहरुले नै भारत सहमत नभए एकतर्फी रुपमै भएपनि सीमा नाका बन्द गर्नुपर्नेमा जोड दिएका थिए। केही जिल्लाले आइतबार स्थानीय स्तरमा सहमति गरेर नाका बन्द गर्ने निर्णय पनि गरेका छन्। भारतले पनि आइतबार मध्यरातिबाट लागू हुने गरी अन्तरप्रदेश बस सेवा र रेल्वे बन्द गर्ने निर्णय गरेको छ।

लगत्तै नेपालमा मन्त्रिपरिषद बैठकले पनि एक साताका लागि चीन र भारततर्फका सबै सीमा नाका बन्द गर्ने निर्णय गरेको हो। त्यस्तै सरकारले कोरोना संक्रमणको महामारीविरुद्ध लड्न र संक्रमण भएको खण्डमा उपचार तथा अन्य उपकरण तथा औषधीजन्य सामाग्री सहज गर्न केन्द्रीय राहत कोष खडा गरेको छ। मन्त्रिपरिषदको बैठकले शुरुमा सरकारको तर्फबाट ५० करोड रुपैयाँ राखेर कोष खडा गर्ने निर्णय गरेको हो।

सो कोषमा प्रधानमन्त्री र मन्त्रीहरुले एक महिनाको तलब जम्मा गर्ने निर्णयसमेत भएको एक मन्त्रीले बताए। त्यस्तै अन्य सबैलाई सो कोषमा सहयोग गर्न सरकारले आह्वान गरेको छ। मन्त्रिपरिषद बैठकले सशस्त्र प्रहरीको अस्पताललाई कोरोना संक्रमितको उपचारमा मात्र केन्द्रित गर्ने निर्णय पनि गरेको ती मन्त्रीले जानकारी दिए।
 

कमेन्ट लोड गर्नुस