सुदूर नेपाललाई विश्वसँग जोड्दै

मन्त्रिपरिषद् बैठक

२०७६ चैत्र ९, ०८:४७

विश्वव्यापी सङ्क्रमण भइरहेको कोभिड १९ को रोकथाम र जोखिम न्यूनीकरण र विविध विषयमा छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा आज मन्त्रिपरिषद्को बैठक भएको छ। बैठकमा कोभिड १९ को रोकथाम, नियन्त्रण उच्चस्तरीय समन्वय समितिका निर्णय र तिनका कार्यान्वयनबारे समीक्षा हुने जनाइएको  छ।

बैठकमा छिमेकी मुलुकसँगका विभिन्न सीमा नाका केही समयमा लागि बन्द गर्ने विषयमा पनि छलफल भएको जनाइएको छ। सामान्यतः मन्त्रिपरिषद्का निर्णय हरेक बिहीबार सार्वजनिक हुँदै आएकामा जरुरी महत्वका विषय भएकाले आजै सार्वजनिक गरिने भएको छ। गत फागुन २१ गते प्रधानमन्त्रीको दोस्रो पटकको मिर्गौला प्रत्यारोपणपछि पहिलो पटक मन्त्रिपरिषद्को बैठक बसेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

बैठक अघि प्रधानमन्त्री ओलीले आजै राष्ट्रपति विद्यादेवी भण्डारीसँग नियमित भेटवार्ता गर्नुभएको थियो। प्रधानमन्त्री ओलीले गत शुक्रबार राष्ट्रका नाममा सम्बोधन गरी कोभिड १९ को जोखिमबाट बच्न आव्हान गर्दै हवाई र स्थलमार्गबाट अपनाउनुपर्ने सावधानी, जोखिमयुक्त स्थानबाट आवागमन रोकका साथै आजदेखि यही चैत २१ गतेसम्म अत्यावश्यकबाहेकका सेवा बन्दको घोषणा गरेका थिए। रासस
 

कमेन्ट लोड गर्नुस