सुदूर नेपाललाई विश्वसँग जोड्दै

आइसोलेसन वार्ड बनाउन ३ महिनाको तलब दिने सांसद गिरीको घोषणा

२०७६ चैत्र ९, १२:३८

नेकपाका सांसद पदम गिरीले जिल्ला अस्पतालमा आइसोलेन वार्ड स्थापना गर्न तीन महिनाको तलब बुझाउने घोषणा गरेका छन्। नेकपा पर्वतका अध्यक्षसमेत रहेका प्रतिनिधिसभा सदस्य गिरीले आइसोलेसन वार्ड स्थापनाका लागि ३ महिनाको तलब सहयोग गर्ने घोषणा गरेका हुन्।

उनले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो निर्वाचन क्षेत्रमा आइसोलेसन वार्ड स्थापना तथा अत्यावश्यक उपकरण तथा सामग्री खरिद गर्न सघाउने उद्देश्यले तीन महिनाको तलब प्रदान गर्ने जनाएका छन्।

सांसद् गिरीले आइसोलेसन वार्ड तथा उपकरण तथा अन्य अत्यावश्यक सामग्री संकलनका लागि सहयोग कोषसमेत बनाउने बताएका छन्। सो कोषमा देश विदेशमा रहेका जिल्लाहरूले सहयोग गर्ने र जिल्ला अस्पतालले आइसोलेसन वार्डको व्यवस्थापन गर्ने उनले बताएका छन्।

गिरीले विज्ञप्तिमा भनेका छन– सहयोग कोषको व्यवस्थापन जिल्ला अस्पताल पर्वतले गर्ने र अनुगमन, नियमित र प्राप्त सहयोगको संयोजन जिल्ला समन्वय समिति, जिल्ला प्रशासनिक कार्यालय र जिल्ला जनस्वास्थ्य कार्यालयले गर्ने गरी आवश्यक व्यवस्था मिलाइने छ।

उनले यस कार्यमा सघाउन स्थानीय तहका जनप्रतिनिधि र देश विदेशमा रहेका सबैलाई आह्वान समेत गरेका छन्। उनले सर्वसाधारणलाई सरकारले जारी गरेका सूचनामा मात्र विश्वास गर्न र सुरक्षित रहनसमेत आग्रह गरेका छन्।

कमेन्ट लोड गर्नुस