सुदूर नेपाललाई विश्वसँग जोड्दै

बजारमा छ्याप्छ्याप्ती ग्याँसका अवैध सिलिन्डर

२०७६ फाल्गुन १३, ०३:४२

नेपालमा भित्र्याउन प्रतिबन्ध गरिएका साना ग्याँसका सिलिन्डर नेपालगञ्जको बजारमा खुलेआम बिक्री हुने गरेको पाइएको छ। भारतसँग सीमा जोडिएको क्षेत्र भएकाले बाँकेका स्थानीय बजारमा अवैध रुपमा भित्र्याइएका साना ग्याँसका सिलिन्डरहरु बिक्री वितरण हुँदै आएको छ।

नेपालमा साना सिलिन्डर ल्याउन नपाइने भएकाले त्यसको गुणस्तर परीक्षण र प्रमाणीकरण हुँदैन। सोमबार जिल्ला प्रशासनको नेतृत्वमा रहेको संयुक्त बजार अनुगमन समितिले ग्याँस बिक्रेतालाई लक्षित गरी अनुगमनसमेत गरेको छ। ‘उपभोक्तालाई तोकेबमोजिमको मापदण्डअनुसार ग्याँस बिक्री भए/नभएको अनुगमन गरिएको हो’, वाणिज्य कार्यालय नेपालगञ्जका प्रमुख कृष्ण पौडेलले भने।

संयुक्त बजार अनुगमन समितिले शुक्रबार पाँचवटा ग्याँस बिक्रेताको पसल अनुगमन गरेको थियो। अनुगमनमा तीनवटा पसलले मापदण्ड विपरीत साना ग्याँसका सिलिन्डर बिक्री गरेको पाइएको वाणिज्य कार्यालयका प्रमुख पौडेलले बताए । ‘उनीहरुलाई प्रतिफर्म रु २० हजारका दरले जरिमाना गरेका छौँ,’ उनले भने।

पुनः अनुगमन गरी निर्देशन पालना गरे/नगरेको ‘फलोअप’ गरिने भन्दै उनले अनुगमनका क्रममा अधिकांश ग्याँस पसलले तराजु नराखेको पाइएकाले राख्न निर्देशन दिएको बताए। नेपालमा अनुमति नभएका साना ग्याँस सिलिन्डरको प्रयोग गर्नु जोखिमपूर्ण हुने पौडेलको भनाइ छ।

भारतले अघोषित नाकाबन्दी लगाएका बेला बजारमा साना ग्यासका सिलिन्डर अवैध रुपमा भित्रिएका थिए। नेपालमा ग्याँसको अभाव भएपछि त्यतिबेला उपभोक्ताहरुले भारतीय बजारमै पुगेर पनि साना सिलिन्डर खरिद गरी ल्याएका थिए।

अभावका कारण नियामक निकायले समेत नेपालगञ्ज बजारमा अवैध सिलिन्डर बिक्रीमा चासो देखाएको थिएन। साना सिलिन्डरहरु उपभोक्ताले खाना पकाउन र बत्ती बाल्नका लागि प्रयोग गर्दै आएका छन्।

साना सिलिन्डरमा ग्याँस भर्ने व्यवस्था नेपालमा छैन। व्यवसायीहरुले अवैध रुपमा ठूलो सिलिन्डरबाट सानो सिलिन्डरमा ग्याँस भर्दै आएका छन् । ठूलो सिलिन्डरबाट सानोमा ग्याँस भर्दा दुर्घटनाको जोखिमसमेत रहने गर्छ।-रासस

कमेन्ट लोड गर्नुस