सुदूर नेपाललाई विश्वसँग जोड्दै

कृषिलाई सहकारीसँग जोड्दै टोखा

२०७६ फाल्गुन ८, ०९:१५ खबर संवाददाता

काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखा नगरपालिकाले व्यावसायिक कृषिमा जोड दिएको छ। कृषि क्षेत्रको पकेट क्षेत्रका रुपमा मानिने टोखा नगरपालिकाले उक्त क्षेत्रभित्र उत्पादन हुने कृषि सामग्रीको अध्ययन गरी व्यावसायिक कृषिलाई जोड दिएको हो।  

नगरपालिकाका प्रमुख प्रकाश अधिकारी कृषि सामग्रीको उत्पादन बढाउन नगरपालिकाले कृषकलाई ट्याक्टर, बीउविजन र सिँचाइका सामग्री प्रदान गरेको बताउछन्। “नगरपालिकाले सामग्री खरिद गरेर किसानमाझ पु¥याएका छौँ”, उनले भने।

खरिद गरेको सामग्रीको ५० प्रतिशत रकम किसानले व्यहोर्ने गरी सामान खरिद गरेको नगरपालिकाले जनाएको छ। टोखाको झोर, चण्डेश्वरी, सपनतीर्थ, भत्केकोपुल क्षेत्र कृषिका लागि पकेट क्षेत्र मानिन्छ । टोखाले नगरपालिकाभित्रको कृषिको विकासका लागि चालू आर्थिक वर्षमा रु १४ लाख बजेट विनियोजन गरेको छ। यस्तै, चुन र भकारो सुधारका लागि १० लाख विनियोजन गरेको नगरपालिकाले जनाएको छ।

नगरपालिकाका कृषि शाखा प्रमुख सुमित्रा पाठक समयअनुसारको कृषि सामग्री उत्पादनको लागि नगरपालिकाले प्राविधिक तालीम दिँदै आएको बताए। “वडाले माग गरेको कार्यक्रमको आधारमा हामी सबै वडासँग सहकार्य गरी कृषिकसमक्ष पुग्दै आएका छौँ”, पाठक भने। टोखाले चालू आवमा व्यावसायिक तरकारी खेती, कौशीखेती र च्याउखेतीका लागि १२० जनालाई निशुल्क तालीम तथा बीउ वितरण गरेको छ।

कौशीखेतीका लागि भने नगरपालिकाले हजारी, कोकोपीट, गमला र औजार वितरण गरेको छ। टोखाले बढी जनघनत्व भएको टोखा नगरपालिकाको ४ देखि ११ वडासम्म कौशीखेती र १ देखि ३ वडासम्म व्यावसायिक खेतीलाई सहयोग गर्दै आएको हो। टोखा नगरपालिकाले कृषकबाट उत्पादित सामग्रीलाई ग्राहकसमक्ष लैजानका लागि भण्डार गृह निर्माणलाई  प्राथमिकतामा राखेको छ।

नगरपालिकाभित्र उत्पादित कृषि सामग्रीलाई सहकारीमार्फत अन्य स्थानसम्म लैजानका लागि ‘कृषि सहकारी केन्द्र’ आवश्यक रहेको टोखा नगरपालिका सहकारी शाखा अधिकृत कमला कार्की बताउछन्। टोखा नगरपालिकामा हाल ६५ सहकारी सञ्चालनमा रहेका छन्। जसमध्ये बचत सहकारी ४७, बहुउद्देश्यीय ११, कृषि चार र उपभोक्ता एक छन्।

काठमाडौँ महानगरपालिका र अन्य स्थानको शाखाको रुपमा समेत टोखामा सहकारी सञ्चालन हुँदै आएको छ। जसको अनुगमन राष्ट्रिय सहकारी बोर्डले गर्दै आएको छ। टोखाले नगरपालिकाभित्र रहेका सहकारीलाई व्यवस्थित ढङ्गले सञ्चालन गर्नका लागि बेलाबेलामा लेखापाल, वित्तीय व्यवस्थापक र सञ्चालकलाई तालीम प्रदान गर्दै आएको छ।

नगरपालिकाले सहकारी क्षेत्रलाई कृषि उत्पादनसँग जोड्नका लागि सहकारीलाई व्यवसाय गर्न कृषकलाई उत्प्रेरित गर्दै आएको छ। टोखाले स्थानीय तह सहकारी ऐन २०७५ र सहकारी नियमावली २०७६ निर्माण गरिसकेको छ। नगरपालिकाभित्रका सहकारीले ठगी नगरोस् भनेर टोखाले बेलाबेलामा सबै सहकारीभित्र अनुगमन गर्दै आइरहेको छ। टोखाभित्रका सहकारीमा खराब ऋण नभएको नगरपालिकाले जनाएको छ।

अहिलेसम्म टोखाभित्र रहेका कुनै पनि सहकारीले ठगी गरेको भन्ने उजूरी नगरपालिकामा नपरेको सहकारी शाखा प्रमुख कार्कीको भनाइ छ। टोखाले सहकारी तथा गरिबी सूचना प्रणालीलाई व्यवस्थित बनाउँदै आएको छ। रासस
 

कमेन्ट लोड गर्नुस