सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा बिश्व नेपाली साहित्य महोत्सवसंगै खाना महोत्सव पनि हुने

२०७६ फाल्गुन ३, ०३:१३ खबर संवाददाता

धनगढी : प्रदेशको अस्थायी राजधानी धनगढीमा सुदूरपश्चिम खाना महोत्सव हुने भएको छ। होटल व्यवसायी संघ कैलालीको आयोजनामा फागुन १४ गतेदेखि २० गते सम्म खाना महोत्सव हुन लागेको हो। सुदूरपश्चिमाञ्चल साहित्य समाजले आयोजना गर्नलागेको विश्व नेपाली साहित्य महोत्सवसंगै सहकार्य गरेर धनगढी स्थित खुलामञ्चमा खाना महोत्सव आयोजना हुने आयोजक होटल व्यवसायी संघ कैलालीका अध्यक्ष कलम बमले बताए। 

‘सुदूरपश्चिम प्रदेशमै पहिलो पटक खाना महोत्सव आयोजनाको तयारीमा छौ,’ अध्यक्ष बमले भने, ‘महोत्सवमा २५ स्टल हुनेछन् भने सबै स्टलमा स्थानीय परिकार मात्रै उपलव्ध हुने छ।’ सुदूरपश्चिम प्रदेशका परम्परागत खानाहरुको प्रवद्र्धनका लागि महोत्सव आयोजना गर्न थालिएको उनले बताए। महोत्सवमा एक हजार लिटरको भाडामा फाणो पकाउने तयारी समेत आयोजकको छ। 

यस्तै सोही अवधीमा धनगढीमा हुने बिश्व नेपाली साहित्य महोत्सवको तयारी पनि तिव्र पारिएको छ। सुदूरपश्चिमाञ्चल साहित्य समाजको आयोजना हुन लागेको सप्ताहब्यापी बिश्व नेपाली साहित्य महोत्सबमा संसारभरिका नेपाली साहित्यकारको सहभागिता रहने आयोजक सुदूरपश्चिम साहित्य समाजका अध्यक्ष रामलाल जोशीले जानकारी दिए।

सुदूरपश्चिमको कला र संस्कृतीका बारेमा सबैलाई जानकारी दिन र अन्य ठाउँको कला र संस्कृतिबारे जानकारी लिन महोत्सबको आयोजना गर्न थालिएको बताए।

उनले भने–‘महोत्सवमा देशभित्रका दुई सय बढि साहित्यकारको सहभागिता रहने छ। भरतको सिलगुडी, दार्जिलिङ, सिक्किम, असाम, मेघालय, मणिपुर लगायतका स्थानबाट साहित्यकार आउनेछन् भने भुटान, बर्मा, अमेरिका, बंगलादेश लगायतका देशबाट पनि साहित्यकार आउनेछन्।’ अध्यक्ष जोशीका अनुसार राष्ट्रपति विद्या भण्डारीले महोत्सबको उद्घाटन गर्ने कार्यक्रम रहेको छ। 
 

कमेन्ट लोड गर्नुस