सुदूर नेपाललाई विश्वसँग जोड्दै

दिलीप महतोको हत्यामा संलग्न तीन जना आरोपित जेल चलान

२०७६ फाल्गुन २, ०४:५८ खबर संवाददाता

मिथिला नगरपालिकाका दिलीप महतोको हत्यामा संलग्न तीन जना आरोपिलाई पुर्पक्षका लागि जेल चलान गरिएको छ। घटनामा संलग्न रहेका अन्य तीन जना आरोपितलाई भने धरौटीमा रिहा गरिएको छ। जिल्ला अदालत धनुषाका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासबाट क्रसर सञ्चालक विपिन महतो, टिप्पर चालक मुनिन्द्र महतो, लोडर चालक ’रञ्जित’ भनिने जितेन्द्र महतोलाई पुर्पक्षका लागि जेल चलान गरिएको हो।

आरोपितमध्ये दिलीपसँगै खोलामा गएका रोशनकुमार यादव, घटनामा संलग्नता देखिएका सत्यनारायण महतो र शत्रुधन महतोलाई जनही २५ हजार रुपैयाँ धरौटी लिइ साधारण तारेखमा रिहा गरिएको जिल्ला अदालत धनुषाले जनाएको छ। अदालतले क्रसर सञ्चालक विपीन महतो, टिप्पर चालक मुनिन्द्र महतो र सह–चालक जितेन्द्र महतोको संलग्नताको आधार र प्रमाण देखिएकाले थुनछेक बहसका लागि थुनामा राख्न आदेश दिएको छ। 

रोशनकुमार यादवलाई घटनालगत्तै खबर गरेको र रोशन–दिलीपबीच कुनै किसिमको वैमनश्यता नरहेको देखिएको कारण तारेखमा छाडिएको हो। यस्तै सत्यनारायण र शत्रुधनलाई घटनामा प्रत्यक्ष संलग्नता नदेखिएकाले तारेखमा रिहा गरिएको हो। गएको पुस २५ गते बिहान घर नजिकैको औरही खोलामा भइरहेको अवैध उत्खनन रोक्न गएको बेला टिप्परले किचेर धनुषाको मिथिला नगरपालिका ५ श्रीपुरका २४ वर्षीय युवक दिलीप महतोको हत्या भएको थियो। 

जिल्ला प्रहरी कार्यालय धनुषाले उनीहरुलाई गएको पुस २७ गते राति पत्रकार सम्मेलन गरी दिलीपलाई फलामको लिभरले कोखामा घोची हत्या गरी घटनालाई दुर्घटनामा परिणत गर्न टिप्परले किचिएको जनाएको थियो। हत्याको दुई दिन नबित्दै प्रहरीले चुरियामाई प्रशोधन उद्योगका सञ्चालक विपीन महतो, टिप्पर चालक मुनिन्द महतो, साथी रोशन महतो लगायत चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको थियो। त्यसको केही दिनपछि फेरि दुई जनालाई पक्राउ गरिएको थियो। 
 

कमेन्ट लोड गर्नुस