सुदूर नेपाललाई विश्वसँग जोड्दै

वुहानबाट १८५ नेपालीलाई भोलि मध्यरातमा काठमाडौं ल्याइँदै, लिन जाने पाइलटको नाम गोप्य

२०७६ फाल्गुन २, ०३:२५ खबर संवाददाता

कोरोना भाइरस प्रभावित चीनको हुबेई प्रान्तस्थित वुहानमा रहेका नेपाली नागरिकलाई स्वदेश फिर्ता ल्याउन नेपाल वायु सेवा निगमको वाइडबडी विमान भोलि त्यसतर्फ प्रस्थान गर्ने भएको छ।

निगमकी प्रवक्ता अर्चना खड्काले कोरोनाप्रभावित क्षेत्रमा रहेका नेपाली नागरिकलाई स्वदेश फिर्ता ल्याउन शनिवार दिउँसो पौने ३ बजे विमान चीनको वुहान प्रस्थान गर्ने जानकारी दिइन्।

विमानमा चालक दलका ३ सदस्य, ६ जना क्रुज मेम्बर र ४ जना चिकित्सक रहने र उनीहरूको पहिचान गोप्य राखिएको प्रवक्ता खड्काले बताइन्। चीनस्थित नेपाली दूतावाससँगको समन्वयमा त्यहाँ रहेका नेपालीलाई लिएर विमान तत्काल काठमाडौं प्रस्थान गर्ने उनले बताइन्।

विमान पर्सि बिहान सवा २ बजे काठमाडौं अवतरण गर्नेछ। विमानस्थलमा उत्रिएपछि उनीहरूलाई बसमा राखेर सिधै खरिपाटी लगिनेछ।

खरिपाटीमा क्वारेन्टाइन तयार

वुहानबाट ल्याइने नेपाली विद्यार्थीलाई राख्न भक्तपुरको चाँगुनारायण नगरपालिकास्थित विद्युत् प्राधिकरणको तालिम केन्द्रमा क्वारेन्टाइन तयार पारिएको छ। चीनबाट ल्याइने १८५ जनालाई क्वारेन्टाइनमा राख्ने गरी तयारी भएको स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता सागर ढकालले जानकारी दिए। उनीहरूलाई प्रोटोकलअनुसार मिलाएर राखिने पौडेलको भनाइ छ।

कोरोना प्रभावित क्षेत्रबाट ल्याउन लागिएका नेपाली नागरिकलाई १४ दिन क्वारेन्टाइनमा राखिने छ । त्यहाँ उनीहरूलाई चिकित्सकले निरन्तर निगरानी गर्नेछन्।वुहानबाट ल्याउन लागिएकाहरूमा कोरोना भाइरसको संक्रमण पाइएको छैन, तर १४ दिनसम्ममा संक्रमण देखिन सक्ने सम्भावना पनि हुने भएका कारण उनीहरूलाई क्वारेन्टाइनमा राख्न लागिएको हो।

खरिपाटीमा त्रास

वुहानबाट ल्याउन लागिएका नेपाली नागरिकलाई खरिपाटीमा राखिने भएपछि त्यस क्षेत्रमा भने त्रास फैलिएको छ । आफूहरूलाई पनि कोरोनाको संक्रमण हुनसक्ने त्रास स्थानीयमा छ।  चीनबाट ल्याउन लागिएका नेपाली नागरिकहरू कोरोना प्रभावित नभएको र सजगता अपनाउनका लागि नै उनीहरूलाई क्वारेन्टाइनमा राख्न लागिएको कुरा सरकारले स्थानीयलाई बुझाउन सकेको छैन।

चीनबाट ल्याइने नागरिकलाई राख्न खरिपाटीमा क्वारेन्टाइन तयार पार्ने निर्णय भएपछि शुरू भएको विरोध केही मत्थर भएपनि स्थानीयमा त्रास भने उस्तै छ ।

१४ सय पुग्न लाग्यो मृत्यु

कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १ हजार ३ सय ८३ पुगेको हङकङ डेटलाइनमा सीएनएनले लेखेको समाचारमा उल्लेख छ। ६४ हजार भन्दा बढी प्रभावित भएका छन्।

कोरोना भाइरसबाट चीनको वुहान सबैभन्दा बढी प्रभावित छ । कोरोनाबाट समग्र प्रभावितमध्ये ८० प्रतिशतभन्दा बढी वुहानकै छन्। लोकान्तर डटकमबाट  

कमेन्ट लोड गर्नुस