सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली र कञ्चनपुरमा नेपाल टेलिकमको फोरजी सेवा प्रभावकारी भएन

२०७६ फाल्गुन १, ०५:१९ खबर संवाददाता

कैलाली र कञ्चनपुरमा नेपाल टेलिकमले लागु गरेको फोर जी सेवा प्रभावकारी नहुँदा सेवाग्राहीलाई सास्ती भएको छ। सेवाग्राहीले गत असोजदेखि कैलाली कञ्चनपुर सहित प्रदेश विभिन्न जिल्लामा लागु भएको फोर जी सेवा प्रभावकारी नहुँदा सास्ती खेप्नुपरिरहेको गुनासो गरेका छन्।

इनटरनेट चलाउँदा चलाउँदै बन्द हुने समस्याले हैरान बनाएको गुनासो समेत गरिएको छ। कञ्चनपुरको महेन्द्रनगरका कृष्णसिह ऐरले टेलिकमले फोर जी सेवा सञ्चालन गरेपनि प्रभावकारी नभएको बताए। उनले भने, ‘नाम मात्रको फोर जी सेवा हो खासै चल्दैन्।

निकै  सुस्त गतिमा चल्दा समस्या भएको छ।’ नेपाल टेलिकमले देखाउँनकै लागि सेवा सुचारु गरेको आशंका पनि उनले गरेका छन्। नाममा फोर जी भनिएतापनि इनटरनेट डाटा भने अनुसार नचल्ने समस्याले आजित बनाएको दावी गरिएको छ।

प्रदेशको अस्थायी राजधानी धनगढीमा पनि उस्तै समस्या रहेको छ। इनटरेनट चलाउनका लागि दिने भनिएको अनिश्चतकालीन डाटा निर्धारित समय अगावै सकिने, चलाउँदा चलाउँदै बन्द हुने समस्याले हैरान बनाएको धनगढी चटकपुरका रमेश चन्दले बताए।

यता नेपाल टेलिकम कैलालीले भने फोर जी सेवामा खासै समस्या नरहेको दावी गर्ने गरेको छ। न्ेपाल टेलिकम धनगढी शाखाका प्रमुख सरोज मल्लले जिल्लामा ८ सय र १८ सय मेगाहर्जमा फोर चल्ने भएकाले मोवाईल सेटमा कहिले कही सर्पोट नगर्ने भएको हुनसक्ने बताए।

तर कुनै स्थानमा समस्या भएको गुनासो आए प्राविधिक जनशक्ति तयारी अवस्थामै हुने हुँदा मर्मत सम्भारका लागि पठाईने मल्ल बताउँछन्। समस्या देखिए टेलिकममा सम्पर्क गर्न पनि आग्रह गरिएको छ।

तर सेवाग्राहीले भने नेपाल टेलिकमले सञ्चालन गरेको फोर जी सेवामा देखिएको समस्या समाधान गर्न उदासिनता देखाएको आरोप लगाउँदै आएका छन्।  टेलिकमले कैलाली र कञ्चनपुर सहित सुदूरपश्चिमका १२ ठाउँमा गत असोजदेखि फोर जी सेवा लागु गरेको थियो। 
  
 

कमेन्ट लोड गर्नुस