सुदूर नेपाललाई विश्वसँग जोड्दै

सरकारी कागजात किर्ते गरी बर्षाैदेखि औषधी आपुर्तीमा दुस्यन्त बस्नेतको एकछत्र राज

२०७६ फाल्गुन १, १२:३८ खबर संवाददाता

धनगढी : सुदूरपश्चिमका विभिन्न सरकारी अस्पतालमा औषधी आपुर्तीको ठेक्का हत्याउनका लागि दुस्यन्त बस्नेत सञ्चालक रहेको विभिन्न आपुर्ती कम्पनीले कागजात किर्ते गरी बर्षाैदेखि एकछत्र राज गर्दै आएका छन्।

गेटा आँखा अस्पतालको औषधी खरिदको टेण्डर पाउनका लागि कर चुक्ता प्रमाणपत्र किर्ते गरेका बस्नेतले अन्य ठेक्का पनि सोही प्रक्रिया मार्फत हत्याएको फेला परेको हो। पछिल्लो तीन बर्ष यता मात्रै दुस्यन्त बस्नेत सञ्चालक रहेको अमित मेडिसियन, ड्रग सेन्टर र डिवी मेडिसिनले समेत कागजात किर्ते गर्दै औषधी आपुर्तीको टेण्डर पाएका छन्। 

बस्नेतले गेटा आँखा अस्पतालमा मात्रै नभई सामाजिक विकास मन्त्रालय मातहतको प्रदेश स्वास्थ्य निर्देशनालयका पनि करोडौंका ठेक्कामा कर चुक्ताको किर्ते प्रमाणपत्र पेस गरेको भेटिएको छ। बस्नेत नै सञ्चालक रहेको ड्रग सेन्टरले पनि किर्ते कागजातको आधारमा धेरै औषधि आपुर्तिको ठेक्का लिएको छ।

ड्रग सेन्टरले आइरन फोलिक एसिड ट्याब्लेट, भिटामिन ‘ए’ क्याप्सुल र आरयुटिएफ नामक औषधि आपूर्तिको ठेक्का पाउन प्रदेश स्वास्थ्य निर्देशनालयलाई कर चुक्ताको किर्ते प्रमाणपत्र बुझएको फेला परेको हो। 

यता आन्तरिक राजश्व कार्यालय कैलालीले भने सञ्चालक बस्नेत रहेको आपुर्ती कम्पनीले कर चुक्ता प्रमाणपत्र किर्ते गरेको पुष्टि भएपछि थप छानविन गरिरहेको छ। कार्यालयका प्रमुख कर अधिकृत चन्द्रकुमार श्रेष्ठले आर्थिक बर्ष २०७३/०७४ र २०७४/०७५ को कर निर्धारण समेत गरिएको बताए।

अमित मेडिसिनले मात्रै दुई बर्षको अवधीमा ३४ लाख ९४ हजार कर छली गरेको प्रमुख श्रेष्ठले बताए। उनका अनुसार आर्थिक बर्ष २०७५÷७६ को आय विवरण अहिले सम्म अमितले बुझाएको छैन्। आय विवरण बुझाएपछि गत आर्थिक बर्षको समेत कर निर्धारण गरिने प्रमुख कर अधिकृत श्रेष्ठले बताए। 

करचुक्ताको प्रमाणपत्र किर्ते गर्ने व्यवसायी बस्नेत अहिले प्रहरी नियन्त्रणमा छन् भने अमितकै अर्का सञ्चालक प्रदीप अग्रवाल फरार छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले अदालतबाट ५ दिन म्याद थपरे बस्नेतमाथि अनुसन्धान भईरहेको बताए।

सरकारी छाप दस्तखत किर्तेका अभियुक्त बस्नेत र अग्रवाललाई ७ बर्ष कैद र ७० हजार जरिवाना सम्म हुने व्यवस्था रहेको छ।
 

कमेन्ट लोड गर्नुस