सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम प्रदेशसभाले ग-यो आठ जिल्लासँग एक साथ भिडियो कन्फरेन्स

२०७६ माघ २९, ०२:१७ खबर संवाददाता

धनगढी: सुदूरपश्चिम प्रदेशसभाले प्रदेशका आठ जिल्लासँग एकै साथ भिडियो कन्फरेन्स गरेको छ। डिजिटल प्रविधि जडान गरेपछि बुधबार कञ्चनपुरबाहेक आठ जिल्लासँग भिडियो कन्फरेन्स गरिएको हो।  

सभामुख अर्जुनबहादुर थापाले आठ जिल्लाका प्रतिनिधिहरुसँग एक साथ परिचयात्मक कार्यक्रम गरी भिडियो कन्फरेन्स प्रविधि उद्घाटन गरेका छन्। उद्घाटन पश्चात उनले प्रदेश सभा सदस्यहरु तथा समितिहरुले समेत स्थानीय जनतासँग समेत आफ्नै कार्य कक्षबाट सीधा संवाद गर्न सक्ने बताए।

भिडियो कन्फरेन्स उद्घाटनमा जिल्लाका समन्वय समितिका पदाधिकारी तथा सदस्यहरु र टीकापुर नगरपालिकाका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति थियो।

प्रदेश सभा सचिवालयको बैठक कक्षमा क्यामेरासहितको एलइडी मोनिटर, अडियो सिस्टम र २० एमबीपीएसको इन्टरनेट जडान गरिएको छ। प्रदेशसभा सचिवालयले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) को सहयोगमा भिडियो कन्फरेन्स हल स्थापना गरेको हो।
 

कमेन्ट लोड गर्नुस