सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा नगरप्रमुखको घरमा आक्रमण गर्ने समुहलाई कारवाहीको माग

२०७६ माघ १०, ०८:१३ खबर संवाददाता

कञ्चनपुर: कञ्चनपुरमा टिप्परले किचेर ज्यान गुमाएकी युवतिको घटनालाई लिएर भीमदत्तनगरपालिकाका नगरप्रमुखको घरमा आक्रमण गर्ने समुहलाई कारवाहीको माग गरीएको छ। बिहिबार दिउँसो महेन्द्रनगरको चम्मनचोकमा टिप्परले २० वर्षीय रमिता भट्टलाई किचेको घटनामा नगरप्रमुख सुरेन्द्र बिष्टको घरमा आक्रमण गर्ने समुहमाथि कार्वाहिको माग गरीएको हो।

भीमदत्त नगरपालिकाका नगर प्रवक्ता राजेन्द्र पाण्डेयले उक्त घटनालाई लिएर नगरप्रमुख विष्टको घरमा तोडफोडको प्रयास गर्ने समूहलाई कानुनी कारवाहीको माग गरेका छन्। प्रवक्ता पाण्डेयले शुक्रबार विज्ञप्ति प्रकाशित गरी दुर्घटनामा युवतीको मृत्यु भएकोमा दुुःख व्यक्त गर्र्दै नगर प्रमुख विष्टको घर तोडफोडको प्रयास र गालीगलौज गरिएकोप्रति घट्नाको निन्दा गर्दै खेद व्यक्त गरे। 

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि बिहीबार नगर प्रमुख विष्ट डोटी भएको बेलामा बिहीबार दिउँसोमा चमनचोकमा टिपरको ठक्करले जनज्योति क्याम्पसकी रमिता भट्टको निधन भएपछि साँझ घर तोडफोडको प्रयास गरिएको थियो। प्रवक्ता पाण्डेये नगर प्रमुख विष्ट घर बाहिर रहेको समयमा तोडफोड र गालीगलौज गरिएको घट्नालाई अमानविय, हिंसात्मक र ध्वसाँत्मक भनी निन्दा गरेका छन। 

विज्ञप्तिमा तोडफोड प्रयास गर्ने समूहमाथि छानबिन गरी कानुनी कारवाही गर्न माग गरिएको छ। ‘राजनीतिक पूर्वाग्रह राखेर नगर प्रमुखज्यूको परिवार रहेको आफ्नै निवास बाहिर हुलहुज्जत, गालीगलौज, ढुङ्गामुढा साथै तोडफोड प्रयास गर्ने जस्ता अमानवीय, हिंसात्मक र ध्वसाँत्मक जस्ता क्रियाकलाप गरिएको घट्नाप्रति यस भीमदत्त नगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ’ विज्ञप्तिमा भनिएको छ,‘ यसरी राजनीतिक अवाञ्चित क्रियाकलाप गरी बेकसुर घर परिवारलाई मानसिक रुपमा तर्साउन गरिएका घटनामा संलग्नहरुलाई तत्काल कारवाहीको प्रक्रियामा ल्याउन स्थानीय प्रशासनलाई अनुरोध गर्दछौ ।’

नगरपालिकाले दुर्घटनामा परी ज्यान गुमाएकी भट्टलाई श्रद्धाञ्जली अर्पण गर्दै परिवारप्रति समवेदना व्यक्त गरेको छ। विज्ञप्तिमा टिपर चालकलाई कानुनी कारवाहीमा ल्याउन माग गरिएको छ।

कमेन्ट लोड गर्नुस