सुदूर नेपाललाई विश्वसँग जोड्दै

मैले जितेँ, सरकारलाई सफल बनाएरै छाड्छु : प्रवक्ता श्रेष्ठ

२०७६ माघ १०, ०७:२४

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले आफ्नो विजयले वर्तमान सरकारलाई प्रभावकारीरुपमा सञ्चालन गरेर परिणाममुखी बनाउन मद्दत पुग्ने बताएका छन्। राष्ट्रिय सभा सदस्यमा निर्वा्चित भएपछि बिहीबार साँझ पोखरामा आयोजना गरिएको विजयी सभामा उनले सरकार र सदनको प्रभावकारिता वृद्धि गरी ‘समृृद्ध नेपाल, सुखी नेपाली’ को सरकारको आकांक्षालाई सफल तुल्याउन आफ्नो विजयले सघाउने दाबी गरे।

उनले भने, ’राष्ट्रिय सभामा प्रभावकारी भूमिका निर्वाह गर्न र सरकारलाई प्रभावकारीरुपमा सञ्चालन गरेर परिणाममूखी बनाउन विजयले मद्दत गर्नेछ। हामी सरकारलाई हरहालतमा सफल बनाइ छाड्ने छौँ, म आफ्नातर्फबाट सम्पूर्णरूपमा प्रतिबद्धता व्यक्त गर्दछु।’ 

आफूहरुको विजयले सांसदको उपस्थिति र सरकार सञ्चालनमा सङ्ख्यात्मक अन्तर पार्ने नभए पनि पार्टीको नीति र कार्यक्रम तथा घोषणापत्रअनुसार सरकारले सामाजिक आर्थिक रुपान्तरणको प्रक्रियालाई गुणात्मक फड्कोमा र्पुयाउने विश्वास व्यक्त गरे।

नेता श्रेष्ठले राष्ट्रिय सभामा उम्मेदवार बनाउने र विजयी गराउन योजना बनाउने पार्टी नेतृत्व र पार्टीलाई आभार व्यक्त गर्दै मतदान प्रक्रियामा सहभागी सबैमा धन्यवाद व्यक्त गरे। अर्की नवनिर्वा्चित सांसद भगवती न्यौपानेले परिवर्तन पक्षधर जनता विजयी हुँदै आएको वर्तमान युगमा पार्टी र जनताको अपेक्षालाई पूरा गर्न आफू लागि पर्ने प्रतिबद्धता व्यक्त गर्दै मतदान गर्ने सम्पूर्णमा आभार व्यक्त गरे।

पार्टीका गण्डकी प्रदेश कमिटीका अध्यक्ष हितराज पाण्डेले राष्ट्रिय सभाको मत परिणामले पार्टी थप बलियो हुँदै गएकाले शक्तिशाली पार्टीले अब जनअपेक्षा पूरा गर्ने गरी काम गर्ने बताए। प्रदेश कमिटीका सचिव गोविन्द नेपालीले निर्वाचन प्रक्रियामा सहभागी ११ वटै जिल्ला कमिटी तथा जनप्रतिनिधिलाई धन्यवाद ज्ञापन गरेको थियो। निर्वाचन कार्यालयले मतपरिणाम सार्वजनिक गरेलगत्तै नेकपाका नेता कार्यकर्ताले राष्ट्र बैँक चोक हुँदै शहीद चोकसम्म विजर्यी याली निकालेका थिए। नवनिर्वा्चित सांसदद्वयले शहीद चोकमा रहेको शहीदस्तम्भमा पुष्प गुच्छा चढाएर शहीदप्रति श्रद्धाञ्जलि अर्पण गरेको थियो। रासस

 

कमेन्ट लोड गर्नुस