सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम सरकारले बाडेका एम्बुलेन्स नै असुरक्षित भएपछि चालक त्रसित

२०७६ माघ १०, ०६:४० खबर संवाददाता

सुदूरपश्चिम सरकारले बाडेका अत्याधुनिक भनिएका एम्बुलेन्स आँफै असुरक्षित भएपछि चालक त्रसित भएका छन्। प्रदेशको सामाजिक विकास मन्त्रालयले २० कार्तिकमा वितरण गरेका १६ वटा एम्बुलेन्स आँफै असुरक्षित भएपछि चालकहरु त्रसित भएका हुन्।

बझाङको छब्बिसपाथिभेरा गाउँपालिका स्थित मटेला स्वास्थ्य चौकीको सुप प्र. ०१००१ झ ३४८ नम्बरको एम्बुलेन्स मंगलवार मात्रै डोटीको जोरायल गाँउपालिका वडा नम्बर २ बुडर बजार नजिकै दुर्घटना भएपछि चालकहरु थप चिन्तित भएका छन्। 

सयुक्त एम्बुलेन्स चालक संघ सुदूरपश्चिमले प्रदेश सरकारले वितरण गरेका एम्बुलेन्सलाई एम्बुलेन्स नै भन्न नमिल्ले भन्दै यसअघि नै नचलाउने निर्णय लिएको थियो। तर प्रदेश सरकारको दवावमा परेर केही एम्बुलेन्स चालकहरुले एम्बुलेन्स सञ्चालन गरेका थिए। तर मंगलवार भएको दुर्घटनापछि भने अधिकासं चालक उक्त एम्बुलेन्स नचलाउने निर्णयमा पुगेका छन्। 

एक जना एम्बुलेन्स चालकले भने, ‘प्रदेश सरकारले बाडेका एम्बुलेन्समा ब्रेक नलाग्ने र चिप्लिने समस्या भएकाले पहाडमा त चलाउनै सकिने अवस्था छैन्। भोलीका दिनमा अप्रिय घटना भए कस्ले जिम्मा लिन्छ?’ कसैको ज्यान जोगाउने क्रममा दुर्घटना भएर अप्रिय घटना भए चालकमाथि दोष आउने चिन्ता रहेको उनले आशंका व्यक्त गरे। 

यसअघि सयुक्त एम्बुलेन्स चालक संघ सुदूरपश्चिमका अध्यक्ष लक्ष्मण सिंहले प्रदेश सरकारले हस्तान्तरण गरेका एम्बुलेन्सको गति निकै कम हुने, भनेको ठाउँमा ब्रेक नलाग्ने लगायका समस्या रहेको भन्दै बिरामी बोक्नु पर्ने एम्बुलेन्स आफैं बिरामी भएको बताएका थिए। 

डोटी अस्पतालका एम्बुलेन्स चालक रतन धामीका अनुसार एक चक्के मिनी ट्रकलाई एम्बुलेन्स बनाईएकाले पहाडमा चिप्लिने समस्या छ भने छिट्टै ब्रेक तात्ने भएकाले ब्रेक नै नलाग्ने समस्या पनि आउने गरेको छ। यस्ले दुर्घटनाको जोखिम पनि बढाएको छ। उता डडेल्धुराको नवदुर्गा स्वास्थ्य चौकीका एम्बुलेन्स चालक राजेन्द्र कैनीले पनि एम्बुलेन्स चलाउँदा ब्रेकमा समस्या देखिएको बताएका थिए। 

‘ब्रेक नलाग्ने र ब्रेक फेल हुने समस्याका कारण टाटा कम्पनीको ४०७ मोडेल असफल भईसकेको हो। त्यस्तो मोडेलको गाडीलाई एम्बुलेन्स बनाएर पहाडमा पठाउँदा जोखिम बढ्छ। विरामी बोकेकै एम्बुलेन्स दुर्घटनामा पर्न सक्छ।’ समाचार स्रोतले भन्यो।

कमेन्ट लोड गर्नुस