सुदूर नेपाललाई विश्वसँग जोड्दै

शिक्षक नियुक्तिमा अनियमितता गरेको आरोपमा तीन जना पक्राउ

२०७६ माघ १०, ०६:१६ खबर संवाददाता

शिक्षक नियुक्तिमा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन जनालाई पक्राउ गरेको छ। 

आयोगले डुङ्गेश्वर गाउँपालिका ५ मा रहेको पिपलचौतारा माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं शिक्षक छनोट समितिका संयोजक भक्तबहादुर शाहीसहित ३ जनालाई पक्राउ गरेको हो।

पालिकाका वडासदस्य एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शाहीसहित शिक्षक पदमा छनौट भएका घनश्याम भण्डारी र वैकल्पिक उम्मेदवार दलबहादुर विकलाई नियन्त्रणमा लिइएको आयोगको सुर्खेतमा रहेको कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं शिक्षक छनोट समिति संयोजक शाहीले निम्न माध्यमिक विद्यालय तहको सामाजिक विषय शिक्षक नियुक्ति प्रक्रियामा अनियमितता गरेको भन्दै अनुसन्धानका लागि नियन्त्रणमा लिइएको आयोगले जनाएको छ। 

परीक्षा सञ्चालन हुनु अगावै पास गराउन चाहेको परीक्षार्थीलाई म्यासेन्जरमार्फत प्रश्नपत्र तथा उत्तर कुञ्जिका पठाएर शिक्षक छनोट गरेको भन्ने उजुरी एवं सूचनाको आधारमा सुर्खेतबाट अनुसन्धान हुँदा अख्तियार दुरुपयोग गरेको खुल्न आएपछि पक्राउ गरिएको आयोग जनाएको छ।
 

कमेन्ट लोड गर्नुस