सुदूर नेपाललाई विश्वसँग जोड्दै

क्यान्सरपीडित आमाले गरिन् छोरीको घाँटी थिचेर हत्या

२०७६ माघ ८, ०२:१२ खबर संवाददाता

क्यान्सरपीडित एक महिलाले छोरीको घाँटी थिचेर हत्या गरेकी छिन्।  

रुसको नोभोसिबिस्र्कमा लास्ट स्टेज क्यान्सर लागेकी एक आमाले आफ्नी नौ वर्षीया छोरीको घाँटी थिचेर हत्या गरेकी छन्। छोरीको हत्या गरेपछि उनी आठौं तल्लाको झ्यालबाट हाम्फालेकी छन्।  मारिया रुसकिख नामक २९ वर्षीया ती महिला माथिबाट खसेर पनि बाँचेकी छन्। उनलाई मानसिक समस्या आएकाले झ्यालबाट हाम्फालेको बताइएको छ। तल खसेर उनी हिउँमा पल्टिएर पीडका कारण कराइरहेको बेलामा उनी बस्ने भवनका अन्य मानिसले आपतकालीन सेवामा फोन गरेका थिए। 

एक पुरुषले स्थानीय सञ्चारमाध्यमलाई बताए, ‘ती महिला लगभग पूरै नांगी थिइन्। उनको हात र गोडामा रगत लागेको थियो तर जिउमा चोटपटक देखिँदैनथियो। मैले उनलाई के भयो भनेर सोध्दा उनले जवाफ फर्काइनन्। उनले भनिन– मद्दत गर्नुस्। मेरो हात गोडा छ कि छैन झैं भइराछ।’ यारामेडिकहरूको एक समूहले महिलालाई एम्बुलेन्समा राखेर अस्पताल लगे। अनि प्रहरी अधिकारीहरू चाहिँ उनको कोठामा पसे। त्यहाँ महिलाकी छोरी रगतको आहालमा डुबिरहेको उनीहरूले देखे। 

फोरेन्सिक जाँच गर्दा महिलाको टाउकोमा भारी वस्तुले हिर्काएको र अनि त्यसपछि घाँटी थिचेर हत्या गरिएको देखियो। रुसकिखको शरीरमा भेटिएको रगत उनकै छोरीको भएको अनुसन्धानकर्मीहरूले बताए। ती महिलाले कोठामा एउटा सन्देश पनि राखेकी रहिछन्। एक स्रोतका अनुसार, सन्देशमा यस्तो लेखिएको थियो –‘म यो टाउकोदुखाइ सहन सक्दिनँ। मलाई माफ गर।’ सन्देशको अन्त्यमा रुसकिखले छोरीलाई एकदमै माया गर्ने लेखिन्। 

माथिबाट खसेकाले ती महिलाका अनेकौं हड्डी भाँचिएका छन्। चिकित्सकहरूले उनको अवस्था गम्भीर तर स्थिर रहेको बताए।  प्रहरीले महिलाविरुद्ध नाबालकको हत्या गरेको विषयमा फौजदारी अनुसन्धान गरिरहेको छ। क्यान्सरका कारण महिलाको मानसिक स्थिति बिग्रेको र उनले छोरीलाई मारेर आफू पनि मर्ने कोशिश गरेको अनुसन्धानकर्मीहरूले अनुमान गरेका छन्।
उनीहरूको परिवारलाई छिमेकीहरूले राम्रो मानेका थिए। महिलाका पति सेनामा छन् र उनी जहिले पनि बाहिरैतिर हुन्छन्। एजेन्सी
 

कमेन्ट लोड गर्नुस