सुदूर नेपाललाई विश्वसँग जोड्दै

गाडीबाट चुरोट फ्याँके ८ लाख जरिवाना

२०७६ माघ ८, ०१:२८ खबर संवाददाता

तपाईंले देख्नुभएकै होला, गुडिरहेको गाडीमा बसेर कतिपय मानिसले चुरोट खाएपछि त्यसलाई गाडीबाट बाहिर फ्याँकिरहेका हुन्छन्। यो व्यापक हानिकारक हुन सक्छ। किनकि चुरोटको सुर्ती नसकिएको अवस्थासम्म योे बलि नै रहन्छ। यसबाट हुने नोक्सानीबाट बच्नका लागि अस्ट्रेलियामा एक नयाँ नियम लागू हुन गइरहेको छ। 

यो नियमअनुसार कुनै ड्राइभरले गाडीबाट बल्दै गरेको चुरोट फ्याँकेको फेला परेमा उसलाई ११ हजार अस्ट्रेलियन डलर अर्थात् ८ लाख रुपैयाँ जरिवाना लगाइनेछ। मिडियामा आएको समाचारअनुसार अस्ट्रेलियाको न्यू साउथ वेल्समा शुक्रबारदेखि यो नयाँ नियम लागू हुनेछ। यो नियम केवल ड्राइभरलाई नभई गाडीमा बस्ने यात्रीका लागि पनि लागू हुनेछ।

यात्रीमाथि लगाइने जरिवानाको रकम १ हजार ३ सय २० अस्ट्रेलिनय डलर अर्थात् १ लाख ६० हजार नेरु हुनेछ। ड्राइभर र यात्रीबाट यो जरिवाना टोटल फायर ब्यानको समयमा कुनै पनि किसिमको आगो बाल्न प्रतिबन्धको समयमा असुलिनेछ। टोटल फायर ब्यान मौसम अत्यन्त खराब भएको समयमा लागू गरिनेछ।

यो अवधिमा यदि कुनै व्यक्ति खुला ठाउँमा आगो लगाउँदै गरेको अवस्थामा पक्राउ परेमा उसमाथि पनि यो नियम लागू हुनेछ। तर, पछिल्लो अवस्थमा पक्राउ परेका व्यक्तिमा यो जरिवाना कति हुन्छ भन्ने विषय अझै स्पष्ट भएको छैन। आगो प्रतिबन्धको समयमा जरिवानाका अतिरिक्त ड्राइभरलाई उसको लाइसेन्समा पनि १० डिमेरिट अंक पनि दिइन्छ। आगो प्रतिबन्ध नभएको समयमा ५ डिमेरिट अंक दिइनेछ। सरकारी विज्ञप्तिका अनुसार २०१९ मा न्यू वेल्समा २ सयभन्दा बढी व्यक्ति आफ्नो गाडीबाट बल्दै गरेको चुरोट फ्याँकेको अवस्थामा पक्राउ परेका थिए।

यस्तै सानो–सानो कारणबाट अस्ट्रेलियामा कहिलेकाहीँ भयंकर आगो लागेकाले यस किसिमको नियम लागू गरिएको हो। आगलागीका कारण अस्ट्रेलियामा करोडौंको नोक्सानी हुँदै आएको छ। यो वर्ष मात्रै जंगलमा लागेको आगोका कारण अस्ट्रेलियामा ५० करोडभन्दा बढी जनावरको मृत्यु भएको थियो। यसका अतिरिक्त सयांै मानिस घरविहीनसमेत भएका छन्। हाल भने अस्ट्रेलियाको आगो नियन्त्रणमा लिइसकिएको छ। वर्षाले पनि आगो नियन्त्रणमा लिनका लागि ठूलो सहयोग गरेको छ।
 

कमेन्ट लोड गर्नुस