सुदूर नेपाललाई विश्वसँग जोड्दै

युएईमा एक वर्षमै १ सय ३ नेपालीले ज्यान गुमाए

२०७६ माघ ६, ०८:५४ खबर संवाददाता

वैदेशिक रोजगारीमा जाने हरेक युवाको सपना हुन्छ– परिवारलाई खुसी दिने। यसरी परिवारको खुसीको खोजीमा विदेश भासिने नेपालीको संख्या बर्सेनि बढ्दो छ। तर, परिवारको खुसीका लागि विदेशी भूमिमा श्रम बेच्न अभिशप्त नेपालीको जीवन अकालमै टुंगिरहेको छ।

नेपालीको मुख्य श्रम गन्तव्यमध्ये एक मानिने संयुक्त अरब इमिरेट्स (युएई) मा बितेको सन २०१९ मा मात्रै १०३ नेपालीेले ज्यान गुमाएका छन। ज्यान गुमाउनेहरुमा ९९ जना पुरुष र ४ जना महिला छन। कार्यस्थलदेखि दुर्घटनालगायतमा परेर युएईमा एक वर्षको अवधिमा १०३ ले ज्यान गुमाएको युएईस्थित नेपाली दूतावासले जनाएको छ।

केही दिनअघि मात्रै अबुधाबीमा भएको सवारी दुर्घटनामा नेपाली परेका थिए। जसमा ३ को मृत्यु भएको थियो भने १६ जना घाइते भएका छन्। नेपाली दुतावास आबुधाबीका अनुसार, गत वर्ष दुर्घटनामा परेर मात्रै २३ नेपालीले ज्यान गुमाएका छन्। १ महिलासहित ५७ जनाको प्राकृतिक कारणबाट मृत्यु भएको छं।

यस्तै एक महिला र १७ जना पुरुषले आत्महत्या गरेको तथ्यांक छ। सन २०१८ मा युएईमा ज्यान गुमाउने नेपालीको संख्या अझै बढी छ। युएईस्थित नेपाली दूतावासका अनुसार, सन २०१८ मा ९ जना महिलासहित ९८ जना पुरुषले ज्यान गुमाएका थिए। सन २०१८ मा ३ महिला सहित ३० नेपालीले आत्महत्या गरेका थिए।

यस्तै गतवर्ष २ जना महिला र ३ जना पुरुषको हत्या भएको दूतावासले जनाएको छ। पारिवारिक विचलन, कार्यस्थलको तनावका कारण नेपालीले यूएईमा आत्महत्या गने गरेको दूतावासका सूचना अधिकारी भुवन ओझा बताउँछन। ओझाका अनुसार, तापक्रम, हृदयघात, मादकपदार्थ सेवनलगायत कारणले पनि कतिपय नेपालीको ज्यान गइरहेको छ।

पछिल्ला केही वर्षयता युवाहरू वैदेशिक रोजगारीमा जाने क्रम बढेको छ। वैदेशिक रोजगारीमा जाने अधिकांश युवाले खाडी मुलुकलाई गन्तव्य बनाउँदै आएका छन। एक तथ्यांकअनुसार, युएईमा मात्रै २ लाख ५० हजार नेपाली युवा श्रम खर्चिरहेका छन। 

कमेन्ट लोड गर्नुस