सुदूर नेपाललाई विश्वसँग जोड्दै

महिला हिंसा नियन्त्रण गर्न कडा कानून ल्याउनुपर्छ : सभापति देउवा

फाइल फोटो
फाइल फोटो
२०७६ मंसिर २४, १०:२८

नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा महिलामाथि हुने हत्या, हिंसा र बलात्कारका घटनामा वृद्धि भइरहेको बताउँदै त्यसलाई रोक्न सरकारले आवश्यक कार्य गर्न नसकेको आरोप लगाएका छन्। 

काँग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले महिला हिंसाविरुद्धको अभियानको अवसरमा आज पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको कार्यक्रममा उनले भने, “मुलुकमा हत्या, हिंसा र बलात्कारका घटना बढिरहेका छन, महिला हिंसाका घटनालाई नियन्त्रण गर्नुको सट्टामा सरकारले लुकाउने काम गरेको छ।”

सभापति देउवाले महिला हिंसा गर्ने व्यक्तिलाई आफ्नो पार्टीले सदस्यतासमेत नदिने भन्दै यस्ता अपराध गर्नेलाई अझ बढी दण्ड र जरिवानाको व्यवस्था गर्न माग गरे। महिला हिंसा गर्नेमाथि कडा कारवाही गर्न कडा कानून ल्याउनुपर्ने उनको भनाइ थियो । 

कार्यक्रममा पार्टी उपसभापति विमलेन्द्र निधिले महिला हिंसाका घटना परिवार, गाउँ, समाज र कार्यस्थलमा समेत हुने भएकाले त्यसको अन्त्य गर्न पार्टीले जागरण अभियान प्रशिक्षणमार्फत नै गर्ने बताए। महामन्त्री डा शशांक कोइरालाले महिलामाथि हुने हिंसा अन्त्य गर्न पार्टीका सबै नेता कार्यकर्ता प्रतिबद्ध हुनपर्ने धारणा व्यक्त गरे। -रासस

कमेन्ट लोड गर्नुस