सुदूर नेपाललाई विश्वसँग जोड्दै

विस्फोटक पदार्थसहित विप्लवका कार्यकर्ता पक्राउ

फाइल फोटो
फाइल फोटो
२०७६ मंसिर २१, ०७:५४

सङ्खुवासभाको पाँचखपन नगरपालिकामा विस्फोटक पदार्थसहित आज नेत्रविक्रम चन्द (विप्लव)समूहका एक कार्यकर्ता पक्राउ परेका छन्। चैनपुर नगरपालिका–५ घर भएका ३० वर्षीय यामप्रसाद गौतमलाई पाचखपन नगरपालिका–८ को पोख्राङ गाउ“बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

गौतमलाई बम बनाउन प्रयोग गरिने विष्फोटक पदार्थसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रमुख प्रहरी नायब उपरीक्षक मीमबहादुर लामाले बताए।  प्रहरीले गौतमका साथबाट विष्फोटक पदार्थ बनाउन प्रयोग गरिने डेटोनेटर १३ थान, नीओजेल लेखिएको लोला–१५ थान, सेप्टी फ्यूज ९.९५ मिटर, नन्इलेक्ट्रिक डेटोनेटर ११ थान, एकीकृत जनक्रान्ति लेखिएको किताब एक थान, विधान २०७३ लेखिएको एक थान, कालो डायरी एक थान, विभिन्न पुस्तक, एक थान मोबाइल र दुई थान सिमकार्ड फेला परेको थियो।

पक्राउ परेका गौतमबारे थप अनुसन्धान भइरहेको र आवश्यक कारवाहीका लागि कानूनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ। तीन दिन अगाडि पाँचखपन नगरपालिकाको को१झ ५४० नंको स्कर्पियो गाडी पाँचखपनदेखि खाँदबारी जाँदै गर्दा बिहीबार दिउँसो अज्ञात समूहद्वारा तोडफोडसमेत भएको थियो। सो समूहले पटक–पटक फोनबाट चन्दा माग गरेको जनप्रतिनिधिले बताएका छन्। -रासस

कमेन्ट लोड गर्नुस