सुदूर नेपाललाई विश्वसँग जोड्दै

नयाँ घरमा पुजा गरिरहेका पुजारी दलीतको घर भन्दै मण्डप छोडेर भागेपछि थुनामा

। फोटो स्रोत ।
२०७६ मंसिर ७, ०६:०७ खबर संवाददाता

छुवाछुत तथा अपमानजनक व्यवहार गरेको आरोपमा एक जना पुजारीलाई प्रहरीले पक्राउ गरी थुनामा राखेको छ। कपिलवस्तु शिवराज नगरपालिका वडा नम्बर ५ चन्द्रौटाका मिलन विश्वकर्माले निर्माण गरेको नयाँ घरको पूजा, रुद्री, सत्यनारायण पूजालगायतको कार्यका लागि आएका पुजारीहरु भिमप्रसाद पोख्रेल र अर्का नाम नखुलेका एक पुजारीलाई बोलाइएको थियो। तर उनीहरु घरमुली दलित भएको थाहा पाएपछि बहाना बनाएर पूजा मण्डपबाट भागेको बताइएको छ।

यसरी मण्डप छोडेर भागेका दुई पुजारीउपर प्रहरीले छुवाछुत तथा अपमाजनक व्यवहारको कसुरमा शुक्रबार मुद्दा दर्ता गरेको छ। पूजा मण्डप छाडेर भाग्ने पुजारी वाणगंगा नगरपालिका वडा नम्बर ८ चप्पर गाउँ का ६५ वर्षीय भिमप्रसाद पोख्रेललाई प्रहरीले पक्राउ गरी थुनामा राखेको छ। अर्का नाम नखुलेको भनिएका पुजारी भने फरार रहेको प्रहरीले जनाएको छ। पक्राउ परेका पुजारी पोख्रेललाई ७ दिनको म्याद थप गरी मुद्दा प्रक्रिया अघि बढाइएको प्रहरील जनाएको छ। छुवाछुत तथा अपमाजनक व्यवहारको कसुर प्रमाणित भए ३ वर्ष कैद वा ३० हजार रुपैयाँ जरिबाना वा दुवै हुन सक्ने कानुनी व्यवस्था रहेको छ।

पुजारीले दलित भनेर पूजा मण्डप नै छोडेर गएको यो घटनाले आफू निकै दुःखी र अपमानित भएको घरधनी मिलन विश्वकर्माले बताए। दुवै जना पुजारीउपर कडा कारबाही हुनु पर्ने उनको माग छ। घटनाको निन्दा गर्दै मधेस मानव अधिकार गृहले एक प्रेस विज्ञप्ति जारी गरी दोषीउपर कडा कारबाहीको माग गरेको छ। २१ औं शताब्दीमा छुवाछुत तथा अपमानजनक व्यवहार गर्नु खोज्नु मानव अधिकारको गम्भीर उल्लघंन रहेको भन्दै गृहका अध्यक्ष रवि ठाकुरले घटनालाई सत्य तथ्य छानबिन गरी दोषीलाई उम्किन नदिन स्थानीय प्रहरी प्रशासनसँग आग्रहसमेत गरेका छन्।
 

कमेन्ट लोड गर्नुस