सुदूर नेपाललाई विश्वसँग जोड्दै

श्रीलङ्काको प्रधानमन्त्रीका रूपमा महिन्दा राजापाक्षद्वारा शपथग्रहण

। फोटो स्रोत ।
२०७६ मंसिर ६, ०६:०९ खबर संवाददाता

श्रीलङ्काको प्रधानमन्त्रीका रूपमा महिन्दा राजापाक्षले बिहीबार शपथग्रहण गरेका छन्। परिवर्तित राजनीतिक सन्दर्भमा देशको नेतृत्वका लागि मार्ग प्रशस्त गर्दै निवर्तमान प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले बुधबार राजीनामा दिएको थियो। बुधबार नै नवनिर्वाचित राष्ट्रपति गोतावाय राजापाक्षले भूतपूर्व राष्ट्रपतिसमेत भइसकेका आफ्नै दाजुलाई प्रधानमन्त्रीका लागि बुधबार नै सिफारिस गरेको थियो। श्रीलङ्काको इतिहासमा दाजुभाइ नै देशको राष्ट्रपति र प्रधानमन्त्री बनेको यो पहिलो घटना हो। नवनियुक्त प्रधानमन्त्रीले सन् २००५ देखि सन् २०१५ सम्म श्रीलङ्काको शक्तिशाली राष्ट्रपतिका रूपमा काम गर्नुभएको थियो। उनकै नेतृत्वमा श्रीलङ्कामा तीन दशक लामो गृहयुद्ध अन्त्य भएको थियो।

प्रधानमन्त्रीको समर्थन रहेका सजित प्रेमादासाले राष्ट्रपतिका उम्मेदवारको निर्वाचनमा पराजयको केही दिनपछि विक्रमासिङ्घेले राजीनामा दिएपछि नयाँ सरकारको गठन भएको हो। गत शनिबार सम्पन्न निर्वाचनमा राजापाक्षले ६० लाखभन्दा बढी मत ल्याई राष्ट्रपतिमा निर्वाचित भएका थिए भने उनका प्रतिस्पर्धी प्रेमादासाले करिब १५ लाख मत कम प्राप्त गरेका थिए। राजापाक्षको नेतृत्वमा सानो कामचलाउ मन्त्रीमण्डलको गठन हुन लागेको पनि स्थानीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्। नयाँ मन्त्रीमण्डलमा राजापाक्षलाई निर्वाचनमा सघाएका केही नयाँ अनुहार आउने अनुमान गरिएको छ। रासस
 

कमेन्ट लोड गर्नुस