सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपालमा लगानी गर्न उपप्रधानमन्त्रीको आग्रह

। फोटो स्रोत ।
२०७६ मंसिर ४, ०७:३२ खबर संवाददाता

उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले नेपाल लगानीका निम्ति उपयुक्त स्थल भएको बताउँदै जलविद्युत्, कृषि, पर्यटन, सेवा र औद्योगिक क्षेत्रमा लगानी गर्न संयुक्त अरब इमिरेट्स (युएई)का लगानीकर्तालाई आग्रह गरेका छन्। संयुक्त अरब इमिरेट्सको दुबईमा सोमबार त्यहाँका उद्यमी–व्यवसायीसँग आयोजित भेलामा उपप्रधानमन्त्री पोखरेलले नेपालमा वैदेशिक लगानीकर्तालाई कुनै किसिमको समस्या नभएको र त्यसको प्रतिफल सजिलै लगानीकर्ताले लैजान पाउने कानूनी व्यवस्था रहेको बताए। चीन र भारतको बीचमा अवस्थित नेपाल बजार विस्तारका दृष्टिले उपयुक्त भएको बताउँदै उनले द्विपक्षीय सहयोगका माध्यमबाट नेपालमा उत्पादित वस्तु ती दुवै देशमा निर्यात गर्न सक्ने प्रशस्त सम्भावना रहेको बताए।

लगानीको वातावरण बनाउन सरकारले कर, आयकर, अन्य आम्दानीमात्र नभई एकद्वार प्रणालीमार्फत सरल र सहज ढङ्गले सेवा प्रवाहको व्यवस्था मिलाएको जानकारी दिँदै उनले विशेष आर्थिक क्षेत्रको सुविधासमेत भएकाले ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गरे। नेपाल र युएईको अर्थतन्त्र निर्माणमा दुई लाख ५० हजारभन्दा बढी नेपालीले योगदान गरेका भन्दै उपप्रधानमन्त्री पोखरेलले नेपाल र युएईबीच सन् १९७७ मा कूटनीतिक सम्बन्ध कायम भएयता दुवै देशले अन्तर्राष्ट्रिय र क्षेत्रीय मञ्चमा साझेदारी गर्दै आएका बताए। रासस
 

कमेन्ट लोड गर्नुस