सुदूर नेपाललाई विश्वसँग जोड्दै

दुबईमा कार्यरत रहेका प्रहरीलाई नेपाल आएर हत्या गरेको अभियोगमा जन्मकैद

। फोटो स्रोत ।
२०७६ मंसिर ४, ०६:१३ खबर संवाददाता

दुबईबाट नेपाल आएर एक जनाको हत्या गर्ने दाङका एक युवकलाई ओखलढुंगा जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ। मोलुङ गाउँपालिका वडा नम्बर३ का २७ वर्षीय सन्तोष कार्कीको घरैमा आएर हत्या गरेको अभियोगमा  दाङको भालुवाङका ३७ वर्षीय संजितकुमार थापालाई जिल्ला अदालतले सोमबार साँझ जन्मकैद सजाय हुने फैसला सुनाएको हो।

थापालाई जिल्ला न्यायधीश दलबहादुर केसीको इजलासले कर्तव्य ज्यान मुद्दामा कसुर ठहर गर्दै २५ वर्ष कैद सजायको फैसला गरेको अदालतका श्रेस्तेदार नेत्रबन्धु पौड्यालले बताए। दुबई प्रहरीमा कार्यरत थापाले आफ्नी पत्नीसित अनैतिक सम्बध राखेको आरोपमा कार्कीको ०७५ भदौ ५ गते अपराह्न ४ बजे मोलुङ गाउँपालिका ३ मा रहेको पीडितकै घरमा गइ खुकुरी प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ।

खुकुरी प्रहारबाट कार्कीको शरीरभरी चोट लागेको र अत्यधिक रगत बगेको अवस्थामा घरभित्रै शव फेला परेको थियो। हत्या गरेर भागेका आरोपितलाई प्रहरीले ०७५ भदौ १२ गते उनकै घर छेउ दाङको भालुवाङबाट पक्राउ गरेको थियो। गएको भदौ १३ गते ओखलढुंगा प्रहरीले बुझेर १४ गते कर्तव्य ज्यान मुद्दा दर्ता गरेको थियो। प्रहरीले क्रुर र अमानवीय तवरले यातना दिएर हत्या गरेको कसुरमा आजन्म काराबासको सजाय माग दावी गरे पनि क्रुर तरिकाले यातना दिएर हत्या नगरेको तथा आरोपितले अभियोग स्वीकारेको देखिएकाले जन्म कैद (२५ वर्ष) कर्तव्य ज्यानमा कसुर ठहर भइ सजाय तोकिएको अदालतले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस