सुदूर नेपाललाई विश्वसँग जोड्दै

बंगलादेशकी प्रधानमन्त्री हसिना र उपप्रधानमन्त्री पोखरेलबीच भेटबार्ता

। फोटो स्रोत ।
२०७६ मंसिर १, ०५:३७ खबर संवाददाता

बंगलादेशकी प्रधानमन्त्री शेख हसिना बाजेदले नेपालसँग ऊर्जा र यातायात सञ्जालको विकासमा सहकार्य गर्न बंगलादेश इच्छुक रहेको बताएकी छन्। युनाइटेड अरब इमिरेट्स (युएई)मा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग भएको भेटमा प्रधानमन्त्री हसिनाले जनताबीचको सम्बन्ध विकास गर्न सम्पर्क सञ्जालहरुको विकास गर्नुपर्ने बताइन्।

‘दुबई एयर शो’मा भाग लिन त्यहाँका प्रधानमन्त्री तथा रक्षामन्त्री मोहम्मद बिन रसिदको औपचारिक निमन्त्रणमा शनिवार दुबई पुगेका उपप्रधानमन्त्री पोखरेलसँग आइतबार प्रधानमन्त्री हसिनाको भेट भएको हो। भेटका क्रममा उपप्रधानमनत्री पोखरेलले ऊर्जा क्षेत्रमा दुई देशबीच सहकार्य हुन सक्ने भन्दै प्रत्यक्ष वैदेशिक लगानीका लागि आग्रह गरेको पोखरेलका प्रमुख स्वकीय सचिव दीपेन्द्र श्रेष्ठले जानकारी दिए।

हालै बंगलादेशका राष्ट्रपतिले नेपाल भ्रमण गरेको स्मरण गर्दै मन्त्री पोखरेलले भ्रमण वर्ष २०२० मा बंगलादेशी नागरिकलाई नेपाल भ्रमण गर्न पे्ररित गरेको विश्वास व्यक्त गरेका थिए। जवाफमा प्रधानमन्त्री हसिनाले राष्ट्रपति नेपाल जस्तो सुन्दर देशको भ्रमणबाट खुसी भएको भन्दै नेपाल भ्रमण गर्न चाहने वंगाली नागरिकहरुको उल्लेख्य संख्या रहेको समेत बताएकी थिइन्।
 

कमेन्ट लोड गर्नुस