सुदूर नेपाललाई विश्वसँग जोड्दै

उद्योग व्यवसायका लागि छिट्टै सहज वातावरण निर्माण हुन्छ :अर्थमन्त्री खतिवडा

। फोटो स्रोत ।
२०७६ मंसिर १, ०५:२९ खबर संवाददाता

अर्थमन्त्री डा. युवराज खतिवडाले उद्योग व्यवसायका लागि छिट्टै सहज वातावरण निर्माण हुने बताएका छन्। कर दिवसको अवसर पारेर आइतबार काठमाण्डौमा आयोजित एक कार्यक्रममा बोल्दै उनले देशलाई अत्याधिक ऋणको चापबाट मुक्त गराउन सरकारले कर नीति लिँदा केही अप्ठयारो भए पनि उद्योग व्यवसायका लागि छिट्टै सहज वातावरण बन्ने बताएको हो। उनले देशलाई अत्याधिक ऋणको मारबाट मुक्त गराउन आफूले करसम्बन्धी अलोकप्रिय नीति लिनु परेको पनि बताए।

उनले भने,  ‘राजस्व प्रणालीमा करको कुरा नगर्ने हो भने हामी अत्याधिक ऋणको बाटोमा जान्छौँ’, ‘अत्याधिक ऋणको चापले देश संकटमा फस्ने हुनाले आफूले देशको दीर्घकालीन हितका लागि करसम्बन्धी अलोकप्रिय निर्णय लिनु परेको हो।’ देशको अर्थतन्त्र अध्यारोबाट उज्यालोतर्फ अघि बढिरहेकाले केही समस्या हुन सक्ने उल्लेख गर्दै त्यसलाई सल्ट्याउँदै लैजाने बाटोबाट सरकार अघि बढिरहेको पनि उनले बताए।

अर्थमन्त्री खतिवडाले व्यवसायीहरुलाई देशप्रति जवाफदेही बनाउने गरी कर कानुन लागू गरिएको पनि दोहोर्याए। उनले देशको अर्थतन्त्रलाई सवल, आत्मनिर्भर र सुदृढ बनाउनेगरी कर नीति लिएकाले दक्षिण एशीयामा नेपाल सबैभन्दा कम ऋण भएको देशको रुपमा पहिचान बनाउन सफल भएको पनि स्मरण गराए।

कमेन्ट लोड गर्नुस