सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुरक्षामा खटिएका प्रहरी जवानले नै ठगे अंक थपेर बैंक

२०७६ मंसिर १, ०६:०९ खबर संवाददाता

सुरक्षामा खटिएका एक प्रहरी जवानले बैंकलाई नै झुक्याएर बढी भुक्तानी लिएको खुलेको छ। पर्सा जिल्ला घर भई जिल्ला प्रहरी कार्यालय जलेश्वरमा कार्यरत प्रज राजेश द्विवेद्वीले चेक किर्ते गरी बैंकबाट बढी रकम झिकेको कसुरमा उनलाई निलम्बन गरिएको छ। महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार घटनापछि द्विवेद्वीलाई हिरासतमा राखी कारबाही सुरु गरिएको छ। उनले राष्ट्रिय वाणिज्य बैंकमा आफ्नै नाममा रहेको खाताबाट आफनै नाममा काटिएको चेकले कसरी ६३ हजार ठगी गरे? घटना रोचक र अनौठो छ। उनको खाता नम्वर १२७००००१८५१ डी हो। यो खातामा प्रहरीले तलब पठाउने गर्छ। बिहीबार जलेश्वरस्थित राबा बैंकमा उनले आफ्नै नाममा काटिएको ३ र ४ हजारको २ चेक भुक्तानी लिन गए।

बैंक प्रबन्धक शिवशंकर यादवका अनुसार द्विवेद्वी युनिफर्ममा बैंक पुगेका थिए। ड्युटीमा रहेको ठानी बैंककर्मीले उनको सहुलियतका लागि प्रशासन काउन्टरमा पठाए। बैंकमा सामान्य ग्राहकको जेनरल काउन्टर र बिरामी लगायत विशेष अवस्थाका ग्राहकको सहुलियतका लागि प्रशासन काउन्टरबाट चेक भुक्तानी दिने व्यवस्था मिलाइएको हुन्छ। जेनरल काउन्टरमा ग्राहकको भिड रहन्छ। यो काउन्टर पुगेको चेक कम्प्युटर मिलान र भुक्तानी एकै ठाउँबाट हुन्छ।

तर, प्रशासन काउन्टरले भने चेकलाई कम्प्युटर रुजु गरी भुक्तानीका लागि अर्को काउन्टरमा पठाउँछ। यसमा भिड नहुँदा सहज भुक्तानी हुन्छ। यहींबाट द्विवेद्वीले बदमासी गरेको प्रबन्धक यादवको भनाइ छ। प्रशासन काउन्टरले उनको खाताबाट चेक रकम अनुसारको ३ र ४ हजार रुपैयाँ कम्प्युटर मिलानसहित सही पनि र्गयो। त्यो चेक लिएर भुक्तानी काउन्टरमा जाने बेला द्विवेद्वीले अंक र अक्षर थपे। ‘अर्थात् द्विवेद्वीको खाताबाट ३ र ४ हजार रुपैयाँ मात्र घटाइयो तर भुक्तानी भने ३० र ४० हजार लिए,’ प्रबन्धक यादवले भने। साँझ हिसाब मिलान गर्ने बेला मात्र ६३ हजार बढी भुक्तानी भएको देखियो। छानबिन गर्दै जाँदा यसको रहस्य खुलेको प्रबन्धक यादवले जनाए।

यादवले भने, ‘बढी गएको रकम मिलान गर्न प्रशासन काउन्टरका अमरकान्त झाको नाममा कर्जा लेखियो। छानबिन गर्दा द्विवेद्वीको चेक अंकमा शून्य र अक्षरमा मात्रा थपेर ३० र ४० हजार बनाएको भेटिएपछि प्रहरीमा खबर र्गयौं।’ प्रहरी उपरीक्षक अधिकारीले घटना जानकारीपछि बैंकसँग उजुरी लिई द्विवेद्वीलाई हिरासतमा राखी बैंक कसुर अपराधमा कारबाही सुरु गरिएको बताए। ‘मुद्दा दर्तापछि द्विवेद्वी स्वतः निलम्बनमा परेका छन,’ अधिकारीले भने, ‘उनीबाट ठगी गरिएको रकमसमेत असुल उपर भैसकेको छ।’ कान्तिपुर दैनिकबाट साभार।

 

कमेन्ट लोड गर्नुस