सुदूर नेपाललाई विश्वसँग जोड्दै

चिलीमा नयाँ संविधानका लागि जनमत सङ्ग्रह हुने

२०७६ कार्तिक ३०, ०४:३५ खबर संवाददाता

चिलीमा नयाँ संविधान निर्माणका लागि जनमत सङ्ग्रह हुने भएको छ। चिलीमा नयाँ संविधान र यसमार्फत राजनीतिक सुधारका लागि भन्दै गएको करिब महिना दिनदेखि नै आन्दोलनकारीले दिनहूँजसो प्रदर्शन गरिरहेका छन्। उनीहरुको मागको सम्बोधन गर्दै चिलीको सरकारले शुक्रबार नयाँ संविधान लेखनका लागि जनमत सङ्ग्रह गर्ने घोषणा गरेको हो। यहाँको वर्तमान संविधान सन् १९८० मा जारी भएको हो। त्यस संविधानलाई तानाशाहले जबर्जस्ती जारी गरेको भन्दै अब प्रजातान्त्रिक संविधान बनाउने भनेर यो घोषणा गरिएको हो।

चिलीका पूर्वशासक अगस्तो पिनोचेटले सो संविधान जारी गरेको र उक्त संविधान प्रजातान्त्रिक संविधान नरहेको भन्दै नयाँ संविधान जारी गर्न जनमत सङ्ग्रहको माग प्रदर्शनकारीले गरिरहेका छन्। यहाँको संविधान तथा सरकारले नागरिकका आधारभूत अधिकार जस्तो शिक्षा, स्वास्थ्यको व्यवस्था गर्न नसकेको भन्दै दशौँ हजार नागरिकले प्रदर्शन जारी राखेका थिए। शुक्रबार आन्दोलनकारी र सरकारका तर्फबाट प्रतिनिधिले वार्ता गरेका थिए । त्यस वार्ताका क्रममा उनीहरुले यो संविधानलाई विस्थापित गरी नयाँ संविधान निर्माण गर्नका लागि जनमत सङ्ग्रह गर्ने विषयमा सहमत भएका बताइएको हो। 

सरकारको वार्ता टोली र विपक्षी दलका प्रतिनिधिबीच शुक्रबार भएको लामो छलफलपछि सन् २०२० को अप्रिलमा जनमत सङ्ग्रह गर्ने विषयमा सहमति भएको समाचारमा जनाइएको छ। चिलीका गृहमन्त्री गोन्जालो बुमलले यो सहमति ऐतिहासिक भएको बताएका छन्। उनले यस सहमति बमोजिम चिलीमा नयाँ जनमत सङ्ग्रह हुनेछ र यसले पुरानो संविधानलाई नै जारी राख्ने कि अर्काे संविधान तयार पार्ने भन्ने बारेमा निर्णय दिने बताए। यसका साथै आगामी संविधानमा नागरिकका के कस्ता आधारभूत आवश्यकताका विषय राख्ने भन्ने बारेमा पनि आगामी जनमत सङ्ग्रहले निर्णय गर्ने भएकोले प्रदर्शनकारीले आफ्ना विरोध प्रदर्शनलाई शुक्रबारदेखि नै स्थगित गरेका छन्। रासस
 

कमेन्ट लोड गर्नुस